रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी तिलोत्तमा प्रिमियर लिगको शुक्रबारको पहिलो खेलमा ज्ञानोदय गोल्डस्ले सेमिफाइनलमा दाबेदारी पेश गरेको छ।
ज्ञानोदयले बुटवल युनाइटेडलाई ४७ रनले पराजित गर्दै सेमिफाइनलमा बलियो दावेदारी प्रस्तुत गरेको हो। ज्ञानोदयले लिगमा खेलेका सबै खेलमा जित निकालेको छ।
पहिले ब्याटिङ गरको ज्ञानोदय गोल्ड्सले १ सय ४४ रनको योगफल तयार पारेको थियो। ज्ञानोदयका लागि शंकर रानाले ६१ बलमा ७ वटा चौका र ४ वटा छक्काको सहायताले ७८ रन हानेका थिए। यस्तै सुनिल धमलाले ३७ बलमा ४१ रन र सिद्धान्त राजशाहीले १२ रन बनाए।
बलिङतर्फ बुटवल युनाइटेडका राहुल प्रजापति र सुसन भारीले समान २/२ बिकेट लिए। १ सय ४५ रनको लक्ष्य सहित जवाफि ब्याटिङ गरेको बुटवल युनाइटेड १४ दशमलव ३ बल खेल्दै ९७ रनमा समेटियो।
बुटवल युनाइटेडलाई सस्तैमा समेट्न ज्ञानोदयका प्रतिश जिसिले ३ दशमलव ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिएका थिए। त्यस्तै जितेन्द शाहानी, दिवनपुन र कमल ओलीले समान २/२ विकेट लिएका थिए।
प्रतियोगितामा ज्ञानोदय गोल्डस्का शंकर राना म्यानअफ द म्याच बने भने जितेन्द्र शाहनी मष्ट भ्यालुएवल प्लेयर बने। यसैबीच आजको दोस्रो खेलमा सियारी राइनोज् बिजयी भएको छ । सियारीले शंकरनगरलाई ७ विकेटले पराजित गरेको हो।
एक्पर्ट रोयल शंकरनगरले दिएको ४५ रनको झिनो बिजयी लक्ष्य सियारी राईनोज्ले ५ ओभर चल्दै गर्दा ३ विकेटको क्षतिमा पुरा गरेको हो। प्रतियोगिता अन्तर्गत सनिबारको पहिलो खेलमा रुपन्देही पल्टन्स् र तिनाउ टाइटन्स् भिड्ने छन् भने दोस्रो खेलमा सियारी राइनोज् र सुपर ११ भैरहवा भिड्ने छन्।