पाल्पाली लिजेन्ट्सले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी तिलोत्तमा प्रिमियर लिगको सेमिफाइनल यात्रा निश्चित गरेको छ।
सुबेन्दु पाण्डे र निर्मल थापाको १ सय १८ रनको साझेदारीसँगै पाल्पालीले सेमिफाइनलको यात्रा तय गरेको हो। पाल्पाली लिजेन्ट्सले लिगका ४ खेलमध्ये ३ खेलमा बिजयी भएको हो।
प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न खेलमा पाल्पाली लिजेन्ट्सले एक्स्पर्ट रोयल शंकर नगरलाई ७ विकेटले पराजित गरेको हो। शंकरनगरले दिएको १ सय ५२ रनको लक्ष्य पाल्पाली लिजेन्ट्सले आफ्नो अन्तिम ओभरको पहिलो बलमा ३ विकेटको क्षतिमा पुरा गरेको थियो।
प्रतियोगितामा पाल्पालीका सुबेन्दु पाण्डे म्यान अफ द म्याच र निर्मल थापा मष्ट भ्यालुयवल प्लेयर बन्न सफल भए।
बुधवारको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्ड्स बिजयी भएको छ। ज्ञानोदयले रुपन्देही पल्टन्स्लाई ६ विकेटले पराजित गरेको हो। योसँगै ज्ञानोदयले लिगमा दोस्रो जित हात पारेको छ।
पहिले व्याटिङ गरेको रुपन्देही पल्टन्स्ले १६ दशमलव ३ ओभर खेलेर ७६ रनको योगफल तयार पारेको थियो। रुपन्देही पल्टन्स्का दिनेश मगरले १६ र दिपेन्द्र सिंह ऐरीले १५ रन बनाए भने अन्य व्याट्सम्यानहरु खासै चल्न सकेनन्।
पल्टन्स्लाई सस्तैमा समेट्न ज्ञानोदयका दिवन पुनले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। ७७ को लक्ष्यका साथै व्याटिङ थालेको रेन्बो ज्ञानोदय गोल्ड्सले १२ दशमलव १ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेटेको थियो। ज्ञानोदयका सुनिल धमलाले ३९ र हरजित सिंहले २१ रनको योगदान गरे।
प्रतियोगितामा ज्ञानोदयका दिवन पुन म्यान अफ द म्याच घोषित भए भने प्रतिष जिसी मष्ट भ्यालुएवल खेलाडी बने। प्रतियोगिता अन्तर्गत विहिबारको पहिलो खेलमा बुटवल युनाइटेड र लुम्बिनी शाक्यानबीच हुनेछ भने दोस्रो खेल मणिग्राम किंग्स र सुपर ११ भैरहवाकाबीच हुने आयोजकले जनाएको छ।