प्रदेशस्तरको सबैभन्दा ठूलो धनरासीको क्रिकेट प्रतियोगिता तिलोत्तमा प्रिमियर लिगको मंगलबार सम्पन्न खेलमा मणिग्राम किंग्स र तिनाउ टाइटन्स विजयी भएका छन्।
प्रतियोगिताको मंगलबार सम्पन्न पहिलो खेलमा तिनाउ टाइटन्सले लुम्बिनी शाक्यानलाई ७ विकेटले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको लुम्बिनी शाक्यानले १ सय ३ रनको योगफल तयार गरेको थियो। १ सय ४ रनको विजयी लक्ष्य सहित ब्याटिङमा उत्रिएको तिनाउको जितका लागि रोशन थामीले ३३ र अजय कोसिल्याले ३८ रनको योदान गरे।
शाक्यानलाई झिनो रनमा रोक्ने क्रममा तिनाउका सुदन श्रेष्ठ र संदिप जोराले २/२ विकेट लिए। प्रतियोगितामा तिनाउ टाइटन्सका संदिप जोराले म्यानअफ द म्याचको उपाधी जिते भने तिनाउकै अजय कौसल्या मष्ट भ्यालुएवल प्लेयर बने।
प्रतियोगिता अन्तर्गत मंगलबारै सम्पन्न दोस्रो खेलमा मणिग्राम किंग्स ४ रनको झिनो अन्तरले विजयी भएको छ। मणिग्राम किंग्सले दिएको १ सय ३३ रनको लक्ष्य पच्छाएको पाल्पाली लिजेन्ट्सले पुरै ओभर खेल्दा १ सय २८ रनमा समेटियो।
४ रनको दुःखद हार व्यहोरेको पाल्पा लिजेन्ट्सले खेलको सुरुवातदेखि नै मणिग्रामलाई दबाबमा राखेको थियो। तर, बलिङको अन्त्य र व्याटिङको सुरुवातमा कमजोर प्रस्तुती हुनाले झिनो रनले पराजित हुन पुग्यो।
मणिग्राम किंग्सका लागि सुनिल भण्डारीले नटआउट ६८ रनको योगदान गरे। मणिग्रामका कृष्ण कार्कीले ४ ओभर बलिङ गर्दै १२ रन खर्चेर ४ विकेट लिएका थिए। प्रतियोगितामा मणिग्रामका कृष्ण कार्की म्यान अफ द म्याच बने भने सुनिल भण्डारी मष्ट भ्यालुएवल प्लेयर बने।
प्रतियोगिता अन्तर्गत बुधवारको पहिलो खेलमा रुपन्देही पल्टन्सले ज्ञानोदय गोल्डसको सामना गर्नेछ भने दोस्रोमा पाल्पाली लिजेन्ट्सले एक्स्पर्ट रोयल शंकरनगरको सामना गर्ने खेल संयोजक दिपक भुर्तेलले जानकारी दिए।