पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनको सियारी राइनोज रुपन्देहीको तिलोत्तमामा जारी तिलोत्तमा प्रिमियर लिगको पहिलो खेलमै पराजित भएको छ।
गौचनको प्रशिक्षण तथा अनुभवी अन्तर्राष्ट्रिय खेलाडी विनोद भण्डारी सम्मिलित सियारी राइनोजलाई छक्का र चौकाको वर्षासँगै ५ विकेटले पराजित गर्दै पाल्पाली लिजेन्टसले निरास पारेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको सियारीले प्रदान गरेको १ सय ६९ रनको लक्ष्य भेट्न पाल्पालीका राजेन्द्रमान शाक्यले ३० बलमा ५ छक्का र ४ चौकाको सहायताले ५६ रनको योगदन गरे। सियारी राइनोजका लागि लालबहादुर अधिकारीले सर्वाधिक ५० रन बनाए।
प्रतियोगितामा पाल्पाली लिजेन्टस्का राजेन्द्रमान शाक्य म्यान अफ द म्याच भए। त्यस्तै पाल्पालीकै तुलबहादुर थापा मष्ट भ्यालुएवल प्लेयर बने भने सियारी राइनोजका लालबहादुर अधिकारी र राजेन्द्रमान शक्यले ५० रन जोड्दै पुरस्कृत भए।
यसअघि आइतबारको पहिलो खेलमा तिनाउ टाइटन्स्लाई २९ रनले पछाडि पार्दै ज्ञानोदय विजयी बनेको छ। ज्ञानोदयले पूरै २० ओभर खेलेर ८ विकेटको क्षतिमा १ सय ५४ रन बनाएको हो।
विजयका लागि १ सय ५५ रनको लक्ष्य पछ्याउने क्रममा तिनाउ टाईटन्सले पूरै २० ओभर खेल्दै १ सय २५ रन मात्र बनायोे। अर्धसतक बनाइ खेलेका ज्ञानोदयका शंकर राना मष्ट भ्यालुएवल प्लेयर बने भने ३ विकेट लिएर २५ रन हानेका ज्ञानोदय गोल्डसकै सुनिल धमला म्यान अफ द म्याच घोषित भए।
प्रदेशस्तरको ठूलो धनराशी पुरस्कार रहेको प्रतियोगितामा प्रदेश ५ का राष्ट्रिय खेलाडीहरु सम्मिलित १० टिमले सहभागिता जनाएका छन्। १० टिमलाई पोल ए र बी मा विभाजन गरी प्रतियोगिता संचालन गरिएको छ ।
प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेलमा राष्ट्रिय खेलाडी दिपेन्द्र ऐरी सम्मिलित टिम रुपन्देही पल्टन्स्ले साबिक बिजेता समेत रहेको राष्ट्रिय खेलाडी सरद भेस्वाकर सम्मिलित लुम्बिनी शाक्यको सामना गर्नेछ भने दोस्रो खेलमा मणिग्राम किंस्ले रोयल शंकरनगरको समाना गर्नेछ।
मणिग्राम किंसबाट राष्ट्रिय खेलाडी कृष्ण कार्की र अमरसिंह राउटेला साथै रोयल शंकरनगरबाट राष्ट्रिय खेलाडी रोहित कुमार पौडेल र असिफ सेख खेल्दैछन्।