प्रतिकूल मौसमका कारण कारण झापाको विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने भनिएकोे हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप स्थगित गरिएको छ। असोज ११ गतेदेखि १८ गतेसम्म हुन लागको गोल्डकप मिति तय गरेर खेल तालिका सार्वजनिक गरिएको भए पनि खराब मौसमका कारण स्थगित गर्नुपरेको आयोजकले जानकारी दिएको छ।
पूर्वी पहाडसहित झापामा दुई दिनदेखि वर्षा भइरहेको छ। खेल मैदानमा पानी जमेका कारण पूर्वनिर्धारित समय तालिका अनुसार गोल्डकपका खेलहरु सञ्चालन गर्न असमर्थ रहेको आयोजक जायोन स्पोर्टस् क्लबले बिहीबार रंगशालामै पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो। आयोजक क्लबका प्रवक्ता अविनाश राईले गोल्डकपको सम्पूर्ण तयारी सकिए पनि खराब मौसमकै कारण प्रतियोगिता स्थगन गर्नुपरेको बताए।
मैदानको अवलोकनपछि खेल प्राविधिकहरुको निचोड र मौसमविदको पूर्वानुमानलाई मध्यनजर गरी खेल स्थगित गरिएको प्रवक्ता राईले बताए। आयोजकले पत्रकार सम्मेलनमै गोल्डकपको अर्को मिति पनि तय गरेको पनि जनाएको छ।
जसअनुसार कात्तिक २ देखि ९ गतेसम्म गोल्डकप सञ्चालन हुने आयोजक जायोन क्लबले जनाएको छ। अर्को मितिका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्राचार पनि गरिएको छ।
कात्तिक २ को मिति तय भएपछि यसअघि सहभागी हुने भनिएको थ्री स्टार क्लब गोल्डकपमा सहभागी हुने सम्भावना न्यून रहेको छ। थ्री स्टार बंगलादेश जाने पक्का भएपछि सो ठाउँमा मनाङ मर्स्याङदी क्लब वा सशस्त्र प्रहरी बलको एपीएफ टिम मैदानमा उतार्ने आयोजकले तयारी गरिएको छ।
आयोजक क्लबका अध्यक्ष भक्त खवासले सबैको विश्वास जितेर तयारी सकिएको अवस्थामा खेल तालिका परिवर्तन गर्नुपर्दा आयोजकलाई धेरै समस्या भएको बताए।