आगामी मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने तय भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि अर्थ मन्त्रालयले ३ अर्ब ६४ करोड बजेट स्वीकृति गरेको छ।
बजेट निर्माण कार्यदलले गत असार २ गते युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) लाई बुझाएको प्रतिवेदनको अनुमान भन्दा २ अर्ब ३८ करोड कम बजेट स्वीकृत गरिएको हो। कार्यदलले सागका लागि विभिन्न १७ शीर्षकमा ५ अर्ब २६ करोड ५७ लाख लाग्ने अनुमान गरेको थियो।
अर्थ मन्त्रालयले गत साता स्वीकृत गरेको बजेट मध्ये ९५ करोड निकासा गरेको छ। निकासा बजेटमा राष्ट्रिय टिम तयारीका लागि १५ करोड, खेल सामाग्री खरिदका लागि ३८ करोड, समारोह व्यवस्थापनका लागि १ करोड, अवास व्यवस्थापनका लागि १ करोड र पूर्वाधार निर्माण लागि ४० करोड रहेको छ।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश सिवालले सागको उद्घाटन र सुरक्षा खर्चको बजेट स्वीकृत हुन बाँकी रहेको बताएका छन्।
मन्त्रिपरिषद्ले यसअघि गत साता सागका लागि कार्यविधि पारित गरेको थियो। कार्यविधि पारित भएसँगै सार्क तयारीका लागि चाहिने विभिन्न समिति गठन गर्न आगामी साता तयारी समितिको बैठक बस्दै छ। कार्यविधि आएसँगै खेलाडीको सुविधाका साथै आर्थिक कारोबार अघि बढाउन सजह भएको छ।
काठमाडौं र पोखरामा हुने साग खेलमा ७ देशका खेलाडीबीच २७ खेलमा प्रतिस्पर्धा हुँदैछ। नेपालले २७ खेलका खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर तयारी गरिरहेको छ।
सागको चुनौतीको रुपमा रहेको दशरथ रंगशाला, सातदोबाटोको हिटिङ पौडी पोखरा, पोखरा रंगाशालाको निर्माण अहिले धमाधाम भरहेको छ। राष्ट्रिय खेलकुद परिषदले आगामी कार्तिक १५ भित्र पूर्वाधार निर्माण सक्ने दाबी गरिरहेको छ।