अर्थमन्त्री युवराज खतिवडाले १३ औं दक्षिण एसियाली खेलकुदको लागि पूर्वाधार निर्माणमा बजेट अभाव नहुने बताएका छन्।
शनिबार पोखरामा पूर्वाधार निर्माणको निरीक्षण गर्दै उनले भने, ‘पूर्वाधारको लागि स्रोत सुनिश्चित गरेका छौं। पूर्वाधार तयार पार्न बजेटले अवरोध हुँदैन।’
अर्थमन्त्री खतिवडाले पूर्वाधारको कामलाई युद्धस्तरमै लैजान जोड दिए।
सागको लागि ७३ दिन मात्रै बाँकी छ।
‘हरेक दिनलाई गणना गरेर काम गर्ने हो भने पूर्वाधार तयार हुन्छ,’ मन्त्री खतिवडाले भने,‘त्यसको लागि युद्धस्तरमै काम गर्नुपर्छ।’ उनले ३६ दिनमा ३ हजार दर्शक अटाउने पूर्वाधार बनाएर बौद्ध सम्मेलन गरिएको प्रसंग उठाउँदै हरेक दिनलाई गणना गरेरै काम गर्नुपर्ने बताए।
साग गेम्सको केही इभेण्ट पोखरामा आयोजना हुने छन्।
उनले साग गेम्ससँगै पोखरालाई स्पोर्टस टुरिज्म हबको रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
सरकारले सागका लागि एक अर्ब रुपैयाँ छुट्टाएको छ। जसमध्ये ४० करोड रुपैयाँ पूर्वाधारमा खर्च गर्ने गरी छुट्टाइएको छ।
पोखरामा ८ खेल आयोजना गरिने छ।
महिला फुटबल, आर्चरी, ह्याण्डबल, ट्रायथोलन, महिला क्रिकेट(प्रस्ताव), प्याराग्लाइडिङ, भारोत्तोलन तथा बिच भलिबल प्रतियोगिता आयोजना गरिने छ।
महिला फुटबलको लागि पोखरा रंगशाला फुटबल मैदान निर्माणाधीन छ।
दसैंअघि ट्रयाक एण्ड फिल्डको लागि सिन्थेटिक ट्रयाक राख्ने काम सकिने मन्त्री खतिवडालाई निरीक्षणको क्रममा ठेकेदार कम्पनीका पदाधिकारीले सुनाए।
फुटबल बाहेक अन्य सागका पूर्वाधार भने तयार भएका छैनन्। पूर्वाधार तयार पार्न नीतिगत निर्णय भएको छैन।
उपभोक्ता समितिमार्फत् वा टेण्डर आह्वानमार्फत् काम गर्ने भन्ने ठोस निर्णय गरिएको छैन।