नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) समन्वय शाखा झापाको आयोजनामा हुने ‘झापा स्पोर्टस् अवार्ड’को तेस्रो संस्करणको तयारी थालिएको छ। असोज १३ गते विर्तामोडको आदर्श ब्याङक्वेटमा हुने तय गरिएको अवार्ड वितरणको तयारी थालिएको मञ्चका अध्यक्ष हिमाल खरेलले बताए।
मंगलबार विर्तामोडमा पत्रकार सम्मेलन गरी अवार्ड वितरणको मिति सार्वजनिक गर्नुका साथै अवार्ड सम्पन्न गर्न समिति निर्माण गरिएको जानकारी दिइयो। ‘झापा स्पोर्टस् अवार्ड २०७५’ सम्पन्न गर्न मञ्चका झापा अध्यक्ष खरेल संयोजक तथा कार्यसमिति सचिव अर्जुन राजवंशी सदस्यसचिव रहेको ५९ सदस्यीय ‘मूल आयोजक समिति’ गठन गरिएको छ।
त्यस्तै, मूल आयोजक समिति मातहत रहने गरी मञ्चका साधारण सदस्य बुद्ध तामाङ संयोजक, सचितानन्द सुब्बा सहसंयोजक, आर्थिक, प्राविधिक, स्वागत तथा सत्कार र स्वयंसेवक उपसमितिका संयोजक सदस्य रहनेगरी ‘अवार्ड संयोजन तथा प्रतिभा छनोट समिति’ गठन गरिएको छ। स्पोर्टस् अवार्डका लागि मञ्चका कोषाध्यक्ष राजु पौडेलको संयोजकत्वमा सल्लाहकारहरू इन्द्रजित मुखिया, रमेश समदर्शी राई, तीर्थ सिग्देल, कुमार भट्टराई, विशाल नेम्वाङ, साधारण सदस्यद्वय केशव भट्टराई र प्रेम आचार्य सदस्य रहेको ‘आर्थिक उपसमिति’ गठन गरिएको छ।
यस्तै, मञ्चका कार्यसमिति सदस्य कमल पाण्डे (विनोद) संयोजक तथा कार्यसमिति सदस्यहरू आयुष निरौला, तिलक योञ्जन, भारती राई, विष्णु श्रेष्ठ, साधारण सदस्यद्वय सौरभ मुखिया र एकराज प्रधान सदस्य रहनेगरी ‘प्राविधिक उपसमिति’ गठन गरिएको छ।
मञ्चकी सहसचिव भूमिका सुब्बा संयोजक तथा कार्यसमिति सदस्य प्रकाश बानियाँ, साधारण सदस्यहरू रोहित काफ्ले, पुष्प बराल र सुनिरा मैनाली सदस्य रहनेगरी ‘स्वागत, अतिथि सत्कार तथा सांस्कृतिक उपसमिति’ गठन गरिएको छ। मञ्चका उपाध्यक्ष अमित खम्बू संयोजक तथा मञ्चका साधारण सदस्य विनोद सापकोटा, नन्दलाल खतिवडा र आर्यन खरेल सदस्य रहनेगरी ‘स्वयंसेवक उपसमिति’ गठन गरिएको छ।
पूर्वफुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा पछिल्लो दुई वर्षदेखि एनएसजेएफ झापाले आयोजना गर्दै आएको अवार्ड कार्यक्रममा वर्ष खेलाडी (पुरुष) लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला)लाई एक थान स्कुटर, वर्ष खेलाडी (युवा)लाई नगद २५ हजार, उत्कृष्ट वर्ष प्रशिक्षकलाई नगद २५ हजार, पिपुल्स च्वाइजअन्तर्गत एक खेलाडीलाई नगद २५ हजार र लाइफ टाइम्स एचिभमेन्ट अवार्डस्वरुप एक जनालाई नगद ३५ हजार रुपैयाँ प्रदान गरिँदै आएको छ। अवार्डमा २०७५ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त साबिक मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका खेलाडी र प्रशिक्षकलाई सहभागी गराइन्छ। खेलाडी र प्रशिक्षकको मनोनयन सूची यही भदौ २९ गते सार्वजनिक गरिने मञ्चले जनाएको छ।