सन् २०१० मा बङ्गलादेशको राजधानी ढाकामा भएको ११औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा हकी खेलमा सहभागी खेलाडी राजेन्द्र चन्द यतिबेला हाउस वाइरिङ (बिजुलीको काम)मा व्यस्त छन्। जिल्ला, क्षेत्रीय र राष्ट्रिय हकी प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै दक्षिण एशियाली खेलकूद खेल्न पुगेका चन्द अन्ततः खेल जीवनबाट बाहिरिएका छन्।
“ढाकामा साग खेलेपछि खेल जीवन त्यागेँ”, कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ का चन्दले भने, “जीविकोपार्जनको केही उपाय नभएपछि ‘हाउस वाइरिङ’को काम गर्दैछु ।” एघारौँ सागमा नेपालको हकी टोलीमा चन्दसँगै कञ्चनपुरका छ खेलाडी सहभागी थिए । कञ्चनपुर हकी खेलको उर्बर भूमि हो। “भविष्य सुनिश्चित नभएपछि धेरै राष्ट्रिय खेलाडीले हकी खेल्न छाडे”, चन्दले भन्नुभयो।
कञ्चनपुरका हकी प्रशिक्षक नरबहादुर चन्दले राजेन्द्र हकीको अब्बल खेलाडी भएको बताए। “राजेन्द्र हकीमा राम्रो दख्खल भएका खेलाडी हुन्, उनको हकीमा महत्वपूर्ण योगदान छ”, प्रशिक्षक चन्दले भने, “भविष्य नदेखेपछि धेरै खेलाडी पलायन भए ।” आगामी मङ्सिरमा नेपालमै १३औँ साग हुँदै। विभिन्न खेलका खेलाडी बन्द प्रशिक्षणमा छन्। हकीलाई १३औँ सागमा समावेश नगरिँदा खेलाडी निराश रहेको चन्दले बताए।
“स्तरीय खेल मैदान नहुँदा १३औँ सागमा हकीलाई समावेश गरिएको छैन”, प्रशिक्षक चन्दले भने। आगामी सागमा हकीका लागि कञ्चनपुरबाट चार पुरुष र तीन महिला खेलाडी छनोट गरिएको थियो। “खेल समावेश नहुने भएपछि खेलाडीले अभ्यास गर्न छाडेका छन्”, उनले भने। नेपालले भारतमा सम्पन्न १२औँ सागमा महिला हकीमा रजत पदक जितेको थियो।
हकीका चन्द मात्र होइनन् सन् २००४ मा पाकिस्तानमा सम्पन्न नवौँ सागमा बक्सिङमा कास्य पदक जितेका बाजुराका कुलबहादुर रावल जिल्लामै स्वास्थ्य सेवामा कार्यरत छन्। अध्ययनसँगै धनगढीमा बक्सिङ प्रशिक्षण शुरु गरेका रावलको खेल जीवनको यात्रा नवौँ सागसँगै टुङ्गिएको छ। “जागिरका लागि भौतारिनुपर्ने अवस्था आयो”, रावलले विगत सम्झिँदै रासससित भने, “पढाइ नभएको भए अहिले बेरोजगार बस्नु पथ्र्यो ।”
खेलकूद क्षेत्रमा बढ्दो राजनीतिकरणका कारण प्रतिभावान खेलाडी पलायन हुनु हुनुपरेको रावलको गुनासो छ। हाल जिल्ला अस्पताल बाजुरामा कार्यरत रावलले सुदूरपश्चिम प्रदेशको विकट क्षेत्रमा रहेका प्रतिभावन खेलाडी ओझेलमा परेको बताए । उनले खेलाडीलाई खेलसँगै अध्ययनमा विशेष ध्यान दिन सल्लाह दिए ।
दशौँ सागमा नेपाललाई बक्सिङमा काश्य पदक दिलाएका धनगढीका लक्ष्मण साउँद अमेरिका पलायन भएका छन्। भीमदत्तनगरपालिका–८ तिलाचौरका सागका कबड्डी खेलाडी धर्म सुनार हाल बेरोजगार छन्। मजदूरी गर्न भारतका विभिन्न ठाउँ धाउँदै आएका सुनारले बङ्गलादेशमा सम्पन्न ११औँ साग खेलेका थिए । सुनारका छोरा पनि कबड्डीका राष्ट्रिय खेलाडी हुन्। तेह्रौँ सागमा विभिन्न खेलका लागि हाल सुदूरपश्चिम प्रदेशबाट महिला तथा पुरुष गरी ४४ खेलाडी छनोट भएको सुदूरपश्चिम क्षेत्रीय खेलकूद प्रशिक्षण केन्द्रका निर्देशक विष्णुबहादुर सिंहले जानकारी दिए “छनोट भएका खेलाडी हाल विभिन्न ठाउँमा बन्द प्रशिक्षणमा छन्”, उनले भने।
–शेरबहादुर सिंह/रासस