सत्तारुढ नेकपाका संसाद खगराज अधिकारीले दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली खेलाडीको तयारीमा तीव्रता दिन सरकारलाई सचेत गराएका छन्।
संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले उनले सरकारले सागका लागि पूर्वाधार विकासका लागि आवश्यक व्यवस्थापनको काममा केन्द्रित हुन सुझाव दिए।
'खेलाडीलाई तालिमको विशेष व्यवस्था गर्नु पर्यो। पैसा छुट्याउनु पर्यो। खेलाडीले चना र चिउरा त खान पाउनु पर्यो नी,' उनले भने।
उनले फरक प्रसंगमा गत साता सिंगापुरमा भएको आइसिसी टी–२० विश्वकप एसिया छनोटमा नेपालको प्रदर्शनलाई लिएर आएका टिप्पणीप्रति असन्तुष्टि जनाए।
नेपालले कुन प्रतियोगितामा कसलाई हराएको विषयमा अनविज्ञ देखिएका अधिकारीले भने,'एसएलसीमा जाँच दिँदा पनि विद्यार्थी ह्यारेस हुन्छ। आइएमा जाँदा पनि त्यसैले टप्न सक्छ। हाम्रो मिडियाले पनि खेलाडीको मनोबल घटाउने काम गर्नु भएन।'
उनले नेपाली खेलाडीलाई तयारी र तालिमको कमी भएको बताउँदै अन्तरिक पक्ष चुनौतपूर्ण भएको बताए।
आइतबार बसेको बैठममा सागका तयारीको विषयमा छलफल भएको थियो।
बैठकले राष्ट्रको इज्जतसँग जोडिएको सो खेलकुद प्रतियोगिता सफल बनाउने गरी सरकारलाई आवश्यक निर्देशन दिन ५ सदस्यीय उपसमिति गठन गरेको छ।
जीवनराम श्रेष्ठको संयोजकत्वमा गठित उपसमितिको सदस्यहरूमा नमिताकुमारी चौधरी, गजेन्द्रबहादुर महत, नविना लामा र नारायणप्रसाद मरासिनी रहेका छन्।