पोखराको लामाचौरमा हुने तीज महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आठौं संस्करण आयोजना गर्ने भएको छ।
नवआर्दश सामुदायिक विकास समाजले वर्षेनी तीज महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ।
राष्ट्रिय महिला भलिबलसँगै विद्यालयस्तरीय छात्रा भलिबल प्रतियोगिता समेत गरिने आयोजकले जानकारी दिएको छ।
राष्ट्रिय महिला भलिबलमा ८ टोलीले प्रतिस्पर्धा गर्ने प्रचारप्रसार संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताए।
भलिबललाई रेडबुलले प्रायोजन गरेको छ। कास्की जिल्ला सितेरियो कराँते संघको व्यवस्थापनमा नरबहादुर बानियाँ स्मृति सितेरियो कराँते च्याम्पियनसिप समेत आयोजना गरिने छ।
महोत्सव आगामी भदौ १२ देखि १६ गतेसम्म सञ्चालन हुनेछ।
राष्ट्रिय भलिबल प्रतियोगिताका विजेताले १ लाख १ सय ५५ रुपैयाँ प्राप्त गर्ने छ।
दोस्रो हुने टोलीले ६५ हजार ५ रुपैयाँ पाउने छ। तेस्रो हुने टोलीलाई नगद २५ हजार ५ रुपैयाँ प्रदान गरिने प्रचारप्रसार संयोजक खत्रीले बताए।
उनका अनुसार उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ। खेल लिगकम नकाउटमा खेलाइने छ।
विद्यालयस्तरीय प्रतिस्पर्धाको विजेताको हकमा भने २५ हजार, दोस्रो हुने टोलीलाई १५ हजार र तेस्रो हुने विद्यालयलाई १० हजार रुपैयाँ प्रदान गरिने छ।