प्याराग्लाइडिङका युकेश गुरुङ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्षका उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन्।
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजना मंगलबार भएको समारोहमा युशेकले पारस खड्का (क्रिकेट), इन्द्र बहादुर श्रेष्ठ (जुडो), सोमपाल कामी (क्रिकेट) र शुक्रबाहदुर राई (गल्फ) लाई पछि पारेर उत्कृष्ट वर्ष खेलाडीको अवार्ड हात पारेका हुन्।
युकेशले गत वर्ष इन्डोनेसियामा भएको एसियाली खेलुकदमा नेपाललाई ऐतिहासिक रजत पदक जिताउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका थिए।
वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड फुटबलकी सावित्रा भण्डारीले हात पारेकी छिन्। भण्डारीले मनोनयनमा परेका सरस्वती चौधरी (भलिबल), सीता रानामगर (क्रिकेट), निमा गुरुङ (तेक्वान्दो) र मनिता श्रेष्ठ प्रधान (जुडो) लाई उछिनिन्।
युवा खेलाडीको अवार्ड एथ्लेटिक्सका अजितकुमार यादवले हात पारे। उनले प्रिन्स दाहाल (ब्याडमिन्डन), ललितनारायण राजवंशी (क्रिकेट) र विजय श्रेष्ठ (कराते) लाई पछि पारे।
भलिबल सुन्दरी रेश्मा भण्डारीले पिपल्स च्वाइसको अवार्ड हात पारिन्। उनले सन्दीप लामिछाने (क्रिकेट), प्रिन्स दाहाल (ब्याडमिन्टन), सावित्रा भण्डारी (फुटबल) र महेश्वर महर्जन (शारीरिक सुगठन) लाई उछिनेर अवार्ड हात पारेकी हुन्।
पिपल्स च्वाइस अवार्डको मनोनयन भने यसअघि नै सार्वजनिक गरिएको थियो। पिपल्स च्वाइस अवार्ड एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजकका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा चयन गरिएको हो।
भोटिङमा रेश्माले ३२ प्रतिशत मत प्राप्त गर्दा दोस्रो स्थानकी सावित्राले २९ प्रतिशत पाइन्।
प्याराग्लाइडिङका योगेश भट्टराई उत्कृष्ट प्रशिक्षक भए। हरि खड्का (फुटबल), धनीराम चौधरी (एथ्लेटिक्स), जगट टमाटा (क्रिकेट) र ज्ञानेन्द्र विष्ट (भलिबल) लाई पछि पारेर उनले अवार्ड हात पारेका हुन्।
प्याराग्लाइडिङ टिमलाई वर्षको टिम अफ दि इयर घोषित गरियो। प्याराग्लाइडिङले गत वर्ष इन्डोनेसियामा भएको एसियाली खेलुकदमा रजत जितेको थियो।
फुटबलर रोहित चन्दलाई स्पेशल अवार्ड प्रदान गरियो। एथलेटिक प्रशिक्षक हरिबहादुर रोकायालाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरियो। दृष्ट्रिबिहिन क्रिकेटर मनकेसी चौधरी भइन् बर्षकी उत्कृष्ठ प्यारा एथलेट भइन्।
वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस र प्रशिक्षकले पल्सर मोटरसाइकल पाए। अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त पाए।
सबै तस्बिर : निशा भण्डारी/सेतोपाटी