राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राज मोहम्मद मिया अन्सारीको अध्यक्षतामा नेपाल कुस्ती संघ पुनर्गठन गरेको छ।
यसअघि अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय मान्यता प्राप्त गरी २ वटा कुस्ती संघ थिए। नारायणदेव राणा अध्यक्ष रहेको संघलाई राखेपको मान्यता थियो। राज मोहम्मद अध्यक्ष रहेको संघलाई भने नेपाल ओलम्पिक कमिटी (एनओसी) मान्यता दिएको थियो। जसका कारण खेलाडीहरु समस्यामा पर्दै आएका छन्।
राणा अध्यक्ष रहेको संघको चार वर्ष कार्यकाल सकिन लाग्दा निर्वाचनका लगि राखेपसँग अनुमति मागिएको थियो। गत असार ७ गते चुनाव गर्नका लागि अनुमति मागिए पनि तल्कालिन सदस्यसचिव केशवकुमार विष्टले मान्यता नदिएको अध्यक्ष राणाको आरोप छ। राणाले सदस्य पन्छिएकाले चुनाव गर्न नसकिएको बताउँछन्।
सोमबार भने राखेपकै उपाध्यक्ष पिताम्बर तिम्सिनाको उपस्थितिमा कुस्ती संघको पुनर्गठन गरिएको घोषणा गरिएको छ। तिम्सिना राष्ट्रिय संघ विवाद, समस्या तथा समाधान सहजीकरण समितिका संयोजक समेत हुन्। तिम्सिनाले राखेको बोर्ड बैठकबाट संघ पुनर्गठन गरेको बताए।
कुस्ती संघ पुनर्गठन गरेको प्रति राणाले आपत्ति प्रकट गरेका छन्। 'हामीले राखेपले अनुमनि नदिदा चुनाव गर्न सकेनौ। अहिले पुनर्गठन गरेको संघलाई हामी कुनै हातलमा पनि मान्दैनौ, सिधै राजनीतिकरण गर्न खोजियो' राणाले भने,'हामी अन्यायविरुद्ध कानुनी लडाइँमा जान्छौ।'
पुनर्गठित १८ सदस्यीय केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा समिम मिया अन्सारी, उपाध्यक्षत्रयमा रामलोचन ठाकुर, मनोहर रायमाझी र बसन्त भण्डारी, महासचिवमा रीता कोइराला, सचिवमा साहिल अन्सारी तथा कोषाध्यक्षमा जफ्रुल्ला मिया मंसुरी रहेका छन्। सदस्यमा ललनप्रसाद यादव, जिनत अन्सारी, डा. प्रमाचन्द सेन, सानु लामा, नेसार खान, जुनेद इद्रिसी, सलामत राइन, नन्दलाल यादव र राखेपबाट २ प्रतिनिधि छन् ।