अखिल नेपाल फुटवल संघका पुर्व अध्यक्ष गणेश थापाका छोरा गौरव र अभिषेकले ललितपुरको ढोलाहिटीमा स्पोर्टस कम्प्लेक्स संचालनमा ल्याएका छन्। चार रोपनी क्षेत्रमा उनीहरुले ३ करोड ५० लाखभन्दा बढी खर्चेर अन्तराष्ट्रिय मापदण्डको स्पोर्टस कम्प्लेक्स निमार्ण गरेका हुन्।
मंगलबारबाट फुटसल र स्वीमिङ संचालनमा आएको छ। एक्टिभ स्पोर्टस कम्प्लेक्स नाम दिइएको सो कम्प्लेक्समा व्यायामशाला, साउना र स्पा पनि छिट्टै संचालनमा आउने अभिषेकले बताए। स्वीमिङपुलको २५ मिटर लम्बाई र १५ मिटर चौडाइ छ।
उपत्यकमा पछिल्लो समय फुटसल खेलको महत्व बढ्दै गएको, युवाहरु यस खेलप्रति आकर्षिक हुदै गएपछि यही क्षेत्रमा लगानी गरिएको अभिषेकले बताए। फुटसल मैदानमा सेभेन ए साइड खेलसमेत गर्न सकिने उनले बताए।
एसियाली फुटबल महासंघमा ८ वर्षभन्दा बढी काम गरेका गौरवसँग फुटबलसम्बन्धी राम्रो ज्ञान छ। उनले सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप र लन्डन ओलम्पिकमा एसिस्टेन्ट जनरल को-अर्डिनेटरसमेत भएर काम गरिसकेका छन्। स्पोर्टस कम्प्लेक्सले खेल क्षेत्रमा थप मद्दत पुग्ने आशा लिइएको गौरवले बताए।