विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई ११७ रनले पराजित गरेको हो ।
कर्णाली प्रदेशले टस जितेपछि आर्मीलाई ब्याटिङको निम्तो दिएको थियो । आर्मीले ५० ओभरमा नौ विकेट गुमाउँदै २९० रन बनायो । दुई सय ९१ रनको विजय लक्ष्य पछ्याएको कर्णाली ३५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १७३ रनमा समेटियो ।
कर्णालीका लागि सुशान्त थापाले सर्वाधिक ३१ रन बनाए । ललित प्याकुरेलले अविजित २८, दिवान पुनले २६ तथा युनिश सिंहले २० रन बनाए । बलिङतर्फ आर्मीका सुुशन भारीले ४ विकेट लिए । यस्तै साहब आलम र करण केसीले दुई÷दुई विकेट लिए ।
यसअघि ब्याटिङ गर्ने क्रममा आर्मीका लागि राजु रिजालले ६६ रन बनाए । रोहित पौडेलले ५६, हरिकृष्ण झाले ५२, करण केसीले २८, साहब आलमले १६ तथा लोकेन्द्र चन्दले १६ रन जोडे । बलिङतर्फ कर्णालीका ललित प्याकुरेलले पाँच विकेट लिए । रवीन्द्र शाहीले दुई विकेट लिए ।