सुदिरमान कप विश्व मिक्स टिम ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन नेपाली ब्याडमिन्टन टोली आज चीनको नानिङ प्रस्थान गरेको छ ।
यही जेठ ५ देखि १२ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट समान दुई/दुई पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा रत्नजीत तामाङ र दीपेश धामी तथा महिलामा नङशल तामाङ र अमिता गिरी रहेका छन् ।
प्रशिक्षकमा उत्तम सिंखडा तथा व्यवस्थापकमा नेपाल ब्याडमिन्टन सङ्घका कोषाध्यक्ष अनोज बस्नेत छन् । प्रतियोगितामा दक्षिण एशियाका तीनसहित २१ राष्ट्रको सहभागिता रहने ब्याडमिन्टन सङ्घले जनाएको छ ।
दक्षिण एशियाबाट नेपालसहित भारत र श्रीलङ्काको सहभागिता रहने छ । ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठ तथा उपाध्यक्ष सुवास श्रेष्ठ प्रतियोगिताका दौरान हुने ब्याडमिन्टन विश्व महासङ्घ र ब्याडमिन्टन एशियाको वार्षिक साधारणमा भाग लिन चीन जादैँछन् ।
अध्यक्ष श्रेष्ठ यही जेठ ७ गते जाँदैछन् भने उपाध्यक्ष श्रेष्ठ टोलीसँग चीन गएका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले आजै बिदाइ गरेका थिए ।
(रासस)