गण्डकी प्रदेशस्तरीय पोखरा स्पोर्टस् अवार्ड जेठको अन्तिम साता हुने भएको छ।
नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीले टिभिएस अपाचे चौंथो पोखरा स्पोर्टस् अवार्ड २०७६ जेठ २४ गते हुने पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
यस अघि स्पोर्टस् अवार्ड कास्की जिल्ला स्तरीय हुँदै आएकोमा यस वर्षदेखि मञ्चले गण्डकी प्रदेशका ११ जिल्ला कायम हुने गरी अवार्डको तयारी गरेको मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए।
यस वर्षदेखि पपुलर प्लेयर अफ दि इयर थप गरी ८ विधामा अवार्ड प्रदान गर्न लागेको अध्यक्ष गिरीले बताए।
लाइफ टाइम अचिभमेन्ट अवार्ड, उत्कृष्ट वर्ष खेलाडी पुरुष र महिलाले क्रमश टिभिएस अपाचे मोटर साइकल र महिलाले विगो स्कुटर पाउने छन्।
वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संस्था, वर्ष पपुलर प्लेयर अवार्ड र वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड प्रदान गरिने गिरीले जानकारी दिए।
उनले वर्ष उत्कृष्ट खेल संस्थालाई १० हजार नगद, ट्रफी र अन्य विधिमा १५ हजार नगद, ट्रफी र दोसल्लाले सम्मान गर्ने जानकारी दिए।
पोखरा सभागृह हुने अवार्ड कार्यक्रममा विविध संस्कृतिक कार्यक्रम, खेलाडी र्याम्प, विभिन्न खेल कौशल प्रदर्शनी समेत हुने प्रचार संयोजक विजय नेपालले जानकारी दिए।
वर्ष खेलाडीको पुरस्कार मुख्य प्रायोजक बतास ब्रदर्श प्रालिले गरेको छ।