पोखरा रंगशाला फुटबल मैदानसहित स्टेडियम निर्माणको काम सुरू भएको छ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आइतबार शिलान्यास गर्दै तोकिएकै मितिमा स्टेडियमको निर्माण कार्य पूरा गर्न कम्पनीलाई निर्देशन दिएका हुन्।
उनले भौतिक पूर्वाधार तोकिएकै मितिमा पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व निर्माण जिम्मा लिने कम्पनीको भएको भन्दै कुशल निर्माणको परिचयलाई अझ बलियो बनाउन सुझाव दिए।
पोखरामा फुटबल स्टेडियम निर्माणसँगै निर्माण भएका अन्य भौतिक पूर्वाधारले स्पोर्टस टुरिजम सिटीको रूपमा विकास गर्न सहज हुने विश्वास व्यक्त गरे।
शिलायान्स समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पोखरा रंगशालालाई अब नयाँ मास्टर प्लान बनाइ कार्ययोजना बनाउनुपर्ने बताए। उनका अनुसार पोखराका बन्न लागेको स्टेडियम १८ हजार ५ सय सिट क्षमताको हुनेछ। यो नेपालकै ठूलो र आधुनिक रंगशाला बन्ने उनले बताए।
एक अर्ब २८ करोड २२ लाखको लागत अनुमान छ तर उनले १ अर्ब ३० करोडमा निर्माण पूरा हुने बताए। उनले ३० हजार दर्शक क्षमता बढाउन मिल्ने गरी पूर्वाधार बनाइने दाबी गरे।
राष्ट्रिय खेलकुद परिषदले पोखरा फुटबल स्टेडियम निर्माणको लागि भारतीय कम्पनी ग्रेट स्पोर्टस् एण्ड एमए कन्ट्रक्सन जावलाखेल ललितपुर (जेभी)सँग सम्झौता गरेको छ।
फुटबल मैदान १०२ मिटर लम्बाइ ६४ मिटरको चौडाइ हुनुपर्ने छ। मैदान टर्फ अथवा प्राकृतिक राख्ने तय गरिएको छ। एथ्लेटिक्सको लागि सिन्थेटिक ट्रयाक हुनुपर्ने उल्लेख छ। ४०० मिटरको आठ लेनको सिन्थेटिक ट्रयाक हुनुपर्ने छ। स्टिल मोडुलर सिष्टमको स्टेडियम नेपालमै पहिलो भएको दाबी कम्पनीले गरेको छ।
सिन्थेटिक ट्रयाक जर्मन र स्टिल स्ट्रक्चर भने फ्रान्सबाट आउने छ।