नेपाली खेलकुदमा पहिलो पल्ट आयोजना हुन लागेको ‘आइएफबिबि प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ (प्रो क्वालिफायर)’ का लागि विश्व बडिबिल्डिङका हस्ति रोली विङ्कलार बिहिबार नेपाल आउने भएका हुन्।
बुधबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा आयोजक आइएफबिबि लिग नेपालका अध्यक्ष सानु गुरूङले रोली इतिहाद एयरलाइन्सबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो ४ बजेर १० मिनेटमा अवतरण गर्ने जानकारी दिए ।
रोली विश्व बडिबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका खेलाडी हुन्। उनको हातको पाखुरा मात्र २४ इन्ची, छाति ६० र खुट्टाको पाखुरा ४८ इन्चीको छ । सोशल मिडिया इन्स्टाग्राममा १२ लाख मानिसले उनलाई पछ्याउँछन् ।
रोली यो वर्ष पहिलो पल्ट नेपालमा देखा पर्न लागेका हुन्। उनी वर्षमा १–२ पल्ट मात्र प्रतियोगिताको अवसरमा सार्वजनिक रुपमा देखा पर्छन् । नेपालमा उनी आइएफबिबि प्रोफेसनल लिगको ‘प्रो क्वालिफायर’ मा ‘गेष्ट पोजर’ को रुपमा देखा पर्न लागेका हुन् ।
पत्रकार सम्मेलनमा प्रतियोगितामा सहभागिता जनाउन विश्वका १५ राष्ट्रका खेलाडीले अनलाइन दर्ता गरेको तर कति राष्ट्रका खेलाडी आउने भन्ने टुँगो फागुन ३ गते लाग्ने जानकारी दिइयो ।
नेपालमा आयोजना हुन लागेको ‘प्रो क्वालिफायर’ मा ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’, ‘मेन्स बडिबिल्डिङ’ र ‘ओमन फिजिक’ गरि ४ वटा प्रो कार्डका लागि प्रतिस्पर्धा हुँदैछ । प्रो कार्ड पाउने ४ खेलाडीले अमेरिकाको लस भेगासमा आयोजना हुने ‘मिस्टर ओलम्पिया’ मा भाग लिन पाउने छन् ।
नेपालमा आयोजना हुने बडिबिल्डिङ च्याम्पियनसिपको क्यालेन्डर अमेरिकामा पनि सार्वजनिक
प्रतियोगितामा प्रायोजकको रुपमा हिमालयस स्प्रिङ वाटर प्राइभेट लिमिेटेडको ‘हिमालयस अन टप’, नर्भिक अस्पताल, बुद्ध एयरलाइन्स, टोयटा कम्पनी रहेको छ ।
भिजिट नेपाल २०२० को नारा ‘लाइफटाइम एक्सपिरियन्स’ लाई प्रतिविम्बित गर्न यो प्रतियोगिता तथा रोली विङ्कलारको उपस्थितिले महत्वपूर्ण योगदान गर्ने आयोजक आइएफबिबि लिग नेपालले विश्वास लिएको बताए ।
पत्रकार सम्मेलनमा भिजिट नेपाल–२०२० का संयोजक सुरज बैधप्रति संस्थाले विशेष आभारी व्यक्त गर्यो ।
युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले प्रतियोगिताको सफलताका लागि आयोजक संस्थालाई शुभकामना प्रदान गरेका थिए । उनले यो प्रतियोगितामार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको छवी बदल्न महत्वपूर्ण योगदान पुग्ने बताए ।
फागुन ४ गते कमलादीस्थित ‘एकेडेमी हल’ मा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आइएफबिबि लिग नेपालले जानकारी पनि दियो । प्रतियोगितामा सहभागी हुने खेलाडीबीच फागुन २ गते सेमिनार हुने र ३ गते खेलाडीको उचाई र तौल नापिने पनि जानकारी दिइयो । फागुन ४ गते नै बिहान ८ बजेदेखि प्रि–जजिङ सुरु हुनेछ भने २ बजेदेखि फाइनल खेल सुरु हुनेछ ।
फाइनल सम्पन्न भएपछि रोलीले आफ्नो भीमकाय शरीर प्रदर्शन गर्नेछन् ।