नेपाली बडिबिल्डिङको इतिहासमा सर्वाधिक विदेशी खेलाडी समावेश गराएर अन्तर्राष्ट्रिय बडिबिल्डिङ प्रतियोगिता आयोजना हुने भएको छ।
शारीरिक सुगठनका बादशाह तथा अमेरिकाको क्यालिफोर्निया राज्यका पूर्व गर्भनर आर्नोल्ड स्वेजनेगर आवद्ध ‘आइएफबिबि–प्रोफेसन लिग’ ले विश्वभरी आयोजना गर्ने ‘प्रो क्वालिफायर’ पहिलो पल्ट नेपालमा आयोजना हुन लागेको हो ।
काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ‘आइएफबिबि– लिग नेपाल’ का अध्यक्ष सानु गुरुङले आउँदो फागुन ३– ४ गते ‘आइएफबिबि– प्रोफेसनल लिग नेपाल, बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ ( प्रो क्वालिफायर)’ आयोजना हुने जानकारी दिए ।
होटल रोयल सिगीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले करिब २ सय अन्तर्राष्ट्रिय बडिबिल्डर नेपालमा भाग लिन आउने बताए ।
‘यो नेपाली खेल इतिहासको गर्विलो दिन हुनेछ,’ तीन पल्टका मिस्टर नेपाल तथा दुई पल्टका धर्म श्री गुरुङले पत्रकार सम्मेलनमा भने– ‘यो नेपालको पर्यटनका लागि समेत सुखद पक्ष हो ।’
नेपालमा आयोजना हुने प्रतियोगितामा विश्व बडिबिल्डिङका अर्का हस्ती बब चिकोरिलो नेपाल आउने उनले जानकारी दिए । अन्य हाईप्रोफाइल बडिबिल्डरलाई नेपाल भित्र्याउने विषयमा कुरा भइरहेको उनले बताए ।
प्रतियोगितामा २० भन्दा बढी राष्ट्रका खेलाडी नेपाल आउने जानकारी दिइयो । प्रतियोगिताको अनुमानित बजेट एक करोड अठ्साट्ठी लाख बयालिस हजार आठ सय रुपैयाँ हुनेछ । शारीरिक सुगठनको ‘विश्वकप’ मानिने ‘मिस्टर ओलम्पिया’ आइएफबिबि लिग नेपालले आयोजना गर्ने गरेको छ । ‘मिस्टर ओलम्पिया’ मा भाग लिन ‘प्रो कार्ड’ आवश्यक पर्ने गर्दछ । नेपाल यसअघि यो संस्थामा आवद्ध थिएन । त्यसैले नेपाली खेलाडी ‘मिस्टर ओलम्पिया’ मा भाग लिने अवसरबाट बञ्चित थिए ।
नेपालले यो प्रतियोगिताका लागि ‘४ वटा ‘प्रो कार्ड’ पाएको छ । विश्वभरीका खेलाडीहरू यी ४ वटा ‘प्रो कार्ड’ जितेर अमेरिकाको लस भेगासमा हरेक वर्ष आयोजना हुने ‘मिस्टर ओलम्पिया’ मा भाग लिन पाउने छन् । त्यसैले यो प्रतियोगितालाई ‘मिस्टर ओलम्पिया’ खेल्ने बाटोको रुपमा पनि लिन सकिन्छ ।
नेपालमा आयोजना हुने छनोट प्रतियोगिता ‘मेन्स फिजिक्स’, ‘क्लासिक फिजिक्स’, ‘मेन्स बडिबिल्डिङ’ र ‘ओमन्स फिटनेश’ तर्फको ‘प्रो कार्ड’ हुनेछ । छिमेकी भारतले अहिलेसम्म ‘प्रो कार्ड’ लिन नसकेको अवस्थामा यो नेपाली खेलकुद जगतका लागि ठूलो उपलब्धी हो ।
अमेरिकामा मुख्यालय रहेको ‘क्ष्ँद्यद्य( एचयाभककष्यलब िीभबनगभ’ ले सन् २०१९ को जनवरीमा आफ्नो क्यालेन्डरमा समेत यस प्रतियोगिताको सम्पूर्ण व्यहोरा सार्वजनिक गर्नेछ ।
संघका महासचिव जयन्द्र राजलवटले प्रतियोगिता आयोजनाका लागि आफूहरूलाई ‘आइएफबिबि प्रोफेसन लिग’ ले विश्वास गरेकोमा धन्यबाद ज्ञापन गरेका थिए ।