अवसर र मेहनत भए नेपालीले संसारको कुनै पनि कुनामा पहिचान र अस्तित्व देखाउन सक्छन्। यसैको गतिलो उदाहरण बनेकाछन् प्रशिक्षक, राजु गड्तौला र उनको नेपाली तेक्वान्दो टोली।
उनको सत्र सदस्यीय नेपाली टोलीले आगामी वर्ष जर्मनमा हुने वर्ल्ड च्याम्पियनसिपका लागि क्यानडामा भएको तेक्वान्दो छनोट प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गरेको छ।
क्यानडा, अल्बर्टा प्रान्तको राजधानी एडमन्टनमा तीन वर्षदेखि नेपाली मूलका खेलाडीलाई हिमालयन तेक्वान्दो एकेडेमी स्थापना गरी प्रशिक्षण दिइरहेका छन्, राजुले। तीन वर्षभित्र तयार गरेका नेपाली टोलीलाई उनले यसैसाता क्यानडाको क्यालगरी सहरमा सम्पन्न भएको क्यानडियन तेक्वान्डो फेडरल अन्तराष्ट्रिय (सिटिएफटी) नेशनल च्याम्पियन प्रतियोगितामा सहभागी गराएका हुन्। प्रतियोगिता प्यार्टन र स्पायरिङका विधा समावेश थिए।
सहभागी नेपालीले दुवै विधामा सात स्वर्ण, पाँच सिल्भर र नौ कास्यपदक जिते। सहभागीमध्ये स्माइल खत्रीले दुवै विधामा १/१ स्वर्ण जिते। प्यार्टन विधामा १/१ स्वर्ण जित्ने अन्य खेलाडीमा प्रध्योतन निरौला, सुभम लुइँटेल विवेक तिमिल्सिना छन्। त्यस्तै, स्पायरिङमा, रियाज अर्याल, प्रशुभा अधिकारी ले १–१ स्वर्ण जितेका छन्। त्यस्तै स्पायरिङ विधामा १/१ सिल्भर जित्नेमा प्रध्योतन निरौला, शुभाम लुइँटेल, गिब्सन ढकाल र सुभम अधिकारी छन्।
त्यस्तै, दुवै विधामा १/१ कास्य जित्ने खेलाडीमा अनुश्का गिरी र जोनिश चौधरी रहेका छन्। प्यार्टन विधामा काश्य जित्ने अन्य खेलाडीमा प्रशुन शर्मा, शशांक भण्डारी, अरिक पौडेल, इशान खत्री, स्पन्दन गौतम र आरम्भ खरेल छन्।
आगामी वर्ष जर्मनमा हुने वर्ल्ड च्याम्पियनशिपका लागि सो प्रतियोगिता भएको थियो। सो नेशनल च्याम्पियनमा क्यानडाको विभिन्न प्रान्तबाट आएका पाँच सय ७३ खेलाडीको सहभागिता रहेको थियो। यही ना्ेभेम्वर १० र ११ मा भएको सो राष्ट्रिय च्याम्पियन छनौट प्रतियोगितमा प्रशिक्षक राजु गड्तौलाको नेतृत्वमा १७ नेपाली खेलाडीले भाग लिएका थिए।