इन्डोनेसियामा जारी १८औं संस्करणको एसियन गेम्स अन्तर्गत प्याराग्लाइडिङमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै पदकको आशा जगाएको छ।
प्याराग्लाइडिङ क्रस कन्ट्री विधामा मंगलबार नेपालको पुरूष टोलीले उत्कृष्ट प्रदर्शन गर्दै चौथो राउण्डको खेलपछि दोस्रो स्थानमा उक्लिएको छ।
पहिलो र दोस्रो राउण्डमा तेस्रो स्थानमा रहेको नेपाली पुरूष टोली तेस्रो राउण्डमा चौथो स्थानमा झरेको थियो। तर, चौथो राउण्डमा उत्कृष्ट पुनरागमन गर्दै दोस्रो स्थानमा उक्लिएको हो।
जापान शीर्ष स्थानमा छ।
अब क्रस कन्ट्रीको अन्तिम राउण्डको खेल भोलि बुधबार हुनेछ। त्यसबाट पदक जित्ने राष्ट्रको टुङ्गो लाग्नेछ।
नेपालको पुरुष टिममा विमल अधिकारी, विमल गौतम, सुशिल गुरुङ, युकेश गुरुङ र विशाल थापा छन्।
म्यानेजर शैलेन राउतका अनुसार यसबाट नेपालले स्वर्णनै जित्ने सम्भावना रहेको बताएका छन्।
कुल ६ स्वर्णका लागि प्रतिश्पर्धा भएको प्याराग्लाइडिङमा ४ विधा सकिइसकेका छन्।
यता महिला क्रस कन्ट्रीमा भने नेपाली टोली चौथो राउण्डपछि छैठौं स्थानमै छ। महिला क्रसकन्ट्रीमा त्रिशा श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धामा छन् ।
पदकको आशा गरिएको तेक्वान्दो, बक्सिङ र करातेमा भने नेपाल यसपटक पदकबिहिन भएको छ।