संघीय संसदका सभामुख कृष्णबहादुर महराले दाङमा २४ करोड लागतमा बन्न लागेको अत्याधुनिक रंगशालाको शिलान्यास गरेका छन्।
बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ बेलझुण्डीमा निर्माणमाधिन रंगशालाको महराले हिन्दु परम्परा अनुसार पूजा आरधना गरि शिलान्यास गरेका हुन्।
दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सभामुख महराले रंगशालाको शिलान्यास पछि सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकालाई नेपालकै पहिलो स्पोर्टस् सिटीको रुपमा विकास गर्ने बताए।
‘तुलसीपुरमा नेपालकै पहिलो स्पोर्टस् सिटि बनाएर राष्ट्रिय खेलकुद परिषदको परिकल्पना साकार पार्न यो रंगशाला सहयोगी हुनेछ,’ महराले भने।
समाज परिवर्तनमा खेलकुदको अहम भूमिका हुने भन्दै उनले राज्यलाई दक्ष जनशक्ति खेलकुद प्रदान गर्ने बताए। संसारका सबै देशहरुले युवा र खेलकुदलाई विशेष महत्व दिएको भन्दै उनले यो युग युवा र खेलकुदको युग भएको हुँदा नेपाललाई खेलकुदको हव बनाउने ठूलो सम्भावनाको खोजी हुनुपर्ने उनको धारणा छ।
महराले खेलकुदको साझा सम्पत्ति खेलकुदकै गराउन तथा जग्गा अतिक्रमण हुन नदिन सरकारी तहबाट पहल थाल्ने बताए। त्यसमा समुदाय पनि सजग हुनुपर्ने उनले सचेत गराए।
कार्यक्रमलाई सम्वोधन गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले हिजोका दिनमा खेलकुदलाई मनोरञ्जनको रुपमा र त्यो पनि संभ्रान्त परिवारले लिने गरेको भए पनि आज खेलकुद सबैको गौरव, स्वास्थ्य र संवृद्धिको प्रतिक बनेको बताए।
हालै सम्पन्न विश्वकप फुटबलले क्रोसियालाई विश्वमा चिनाएको भन्दै मन्त्री विश्वकर्माले देशको सामर्थ्य र पहिचान स्थापित गर्न खेलकुदको विकास अपरिहार्य रहेको बताए।
आगामी मंसिरमा हुने ८ औं राष्ट्रिय खेलकुद सम्पन्न गर्न चुनौतिको पहाड जस्तै भए पनि फागुनमा हुने १३औं दक्षिण एसियाली खेलकुदको लागि त्यसवाट भाग्ने सुविधा नभएको मन्त्री विश्वकर्माले बताए।
उनले प्रदेश नं. ५ अन्तर्गतका दाङ, बाँके, कपिलबस्तु लगाएका जिल्लामा हुने राष्ट्रिय खेलकुदको समापन भने दाङकै रंगशालामा गरिने बताए।
त्यस्तै उनले तुलसीपुरलाई नेपालकै पहिलो स्पोर्ट सिटी निर्माण गर्न तुलसीपुरमै टेवुलटेनिस हल निर्माण भइसकेको र अन्य भौतिक निर्माणको काम पनि गर्ने बताए।
त्यस्तै उनले दाङको लमहीमा अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण गर्दै दाङलाई खेलदुकको हवका रुपमा विकास गर्ने आश्वासन दिए।
कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले बेलझुण्डिमा निर्माणाधिन रंगशाला सिमेन्ट र रडहरुबाट निर्माण गरिने नभई अत्याधुनिक प्रविधि सेन्थेकिट प्रविधिवाट नट बोल्ड जोडेर निर्माण गरिने हुँदा ४ महिना भित्रै निर्माण सम्पन्न हुने बताए।
राष्ट्रिय खेलकुद परिषदले तुलसीपुर, पोखरा र इटहरीलाई हालसम्म स्मार्ट सिटीको रुपमा विकास गर्न खोजिरहेको जानकारी दिँदै नेपालको इतिहासमै तुलसीपुर पहिलो स्मार्ट सिटीको रुपमा काम पुरा गरेर इतिहास लेखाउने उद्धेश्य रहेको बताए।
२४ करोड २४ लाखमा रंगशाला निर्माण हुने
दाङको रंगशाला भ्याट र पिएससहित २४ करोड, २४ लाख ४५ हजारमा निर्माण गर्न लागिएको दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले जानकारी दिए।
असार ७ गते भएको सम्झौता अनुसार ८ महिना भित्रै रंगशाला निर्माण गरिसक्ने उल्लेख छ। १५ विगाहा जग्गामा निर्माणाधिन दाङ रंगशाला निर्माणको जिम्मा दिवा एमए प्रतिष्ठान कन्स्ट्रक्सन जेभि काठमान्डौंले पाएको छ।
आगामी मंसिर महिनामा हुने भनिएको ८ औं राष्ट्रिय खेलकुदलाई लक्षित गरि निर्माण गर्न थालिएको दाङ रंगशालामा सेन्थेटिक एथलेटिक्स ट्राक निर्माण, फुटबल मैदान निर्माण, नाली निर्माण, भिआईपी प्यारापिट निर्माण, खेलाडी चेन्जिङ रुम, बैठक रुम, भिआईपी/मिडिया रुम निर्माण र साधारण प्यारापीट निर्माण गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले जानकारी दिए ।