क्रिकेट समर्थक समाज (एन.सि.एस.एस) ले दृस्टिविहीन राष्ट्रिय क्रिकेट खेलाडीलाई सम्मान तथा सहयोग रकम हस्तान्तरण गरेको छ। सोमबार एक कार्यक्रमबीच कीर्तिपुरमा सम्पूर्ण दृस्टीविहिन क्रिकेट खेलाडी तथा टिमलाई समाजले सम्मान गरेको हो।
समर्थक समाजले उक्त कार्यक्रममा नेत्रहीन क्रिकेट संघलाई विश्वकपमार्फत देशको झन्डा संसारमाझ फैलाउन उल्लेखनीय योगदान दिएवापत ताम्रपत्र र नगद पचास हजार रुपैँया, विश्वकपमा सहभागी १४ जना खेलाडीलाई जनही बाइस हजार, अफिसियल तथा प्राविधिक ८ जनालाई जनही एघार हजार रुपैँया प्रदान गरेको थियो।
यस्तै हवाइ पार्ट्नर फ्लाई दुवई, दृस्टिविहीन टिमको जर्शी स्पोन्सर साहस स्पोर्ट्स र सन्यास घोषणा गरेका दुई दृस्टीविहीन खेलाडीहरूलाई मायाको चिनो प्रदान गरेको थियो।
सम्मान तथा सहयोग रकम हस्तान्तरण कार्यक्रममा राष्ट्रिय टिमका प्रशिक्षक जगत टमटा, कप्तान पारस खड्का, नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे, भारतीय कन्सल्टेन्ट ब्याटिङ कोच सुलक्षण कुलकर्णी, राष्ट्रिय टिमका खेलाडीहरू तथा एनसिएसएस सदस्यहरूको उपस्थिति थियो।
यसै अवसारमा समर्थक समाजले डिभिजन दुईको तयारी गराउन आइसीसीमार्फत आएका भारतीय प्रशिक्षक सुलक्षण कुलकर्णिलाई स्वागत तथा मायाको चिनो पनि प्रदान गरेको थियो।
समर्थक समाजले दृष्टिविहीन क्रिकेट टिमले उचित सुविधा एवं सम्मान पाउनुपर्नेमा जोड दिँदै सहयाेग अभियान चलाउँदै आएको थियो।