भारतको सिक्किममा गत साता आयोजित कन्चनजंघा म्याराथनको ‘माउन्टएभरेष्ट सद्भावना पुरस्कार’ केन्याली धावक फिलिप एइगोले जितेका छन्।
पुरस्कारको प्रायोजन सगरमाथा क्षेत्रमा प्रत्येक वर्ष मे २९ तारिखका दिन आयोजना गरिँदै आएको माउन्ट एभरेष्ट म्याराथनको आयोजक तेन्जिङ हिलारी एभरेष्ट म्याराथनले गरेको हो। पुरस्कारको राशि ८,८४८ ले सगरमाथाको उचाई (८,८४८ मिटर) प्रतिबिम्बित गर्छ।
‘यो पुरस्कारले विश्वकै सर्वोच्च अग्लो र तेस्रो अग्लो-सगरमाथा र कन्चनजंघा हिमाललाई जोड्ने मात्र नभई नेपाल र सिक्किमका हिमाली दाजुभाइ-दिदिबहिनीबीच सद्भाव र मित्रताको नयाँ अध्याय शुरू गरेको छ, जुन सिमापार पर्यटन (क्रस बोर्डर टुरिजम) प्रबर्द्धनमा एउटा कोशेढुंगा साबित हुन जानेछ,’ विश्वकै अग्लो उचाइमा आयोजना हुने माउन्ट एभरेष्ट म्याराथनका परिकल्पनाकार बिक्रम पाँडेकाजीले बताए।
नेपाल–सिक्किम बीच सिमापार पर्यटन (क्रस बोर्डर टुरिजम) को अवधारणा आफूले अघि बढाउँदै आएको बताउँदै पाँडेकाजीले सिक्किमको पाक्योंङमा छिट्टै खुल्न लागेको विमानस्थलबाट नेपाल–सिक्किमबीच हवाई उडान सुरू हुन गइ दुइई देशबीच पर्यटनले ठूलो फड्को मार्नेमा आफू ढुक्क रहेको बताए।