किरण र नङ्सल वर्ष २०७३ को उत्कृष्ट खेलाडी, कसलाई कुन अवार्ड (तस्बिरहरू)


नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरणकुमार लिम्बु वर्ष २०७३ को उत्कृष्ट खेलाडी भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्ने स्पोर्टस् अवार्डमा उनलाई वर्ष खेलाडी अवार्डबाट सम्मान गरिएको हो।

एएफसी सोलिड्यारिटी कप जित्न महत्वपूर्ण भूमिका खेलेको भन्दै मञ्चले उनलाई सम्मान गरेको हो।  सोलिड्यारिटी कपको सेमीफाइनलमा लाओसका तीन पेनाल्टी रोकेका थिए। यस्तै उनले एएफसी एसियन कप छनोटमा फिलिपिन्ससँग पनि एक पेनाल्टी बचाउ गरेका थिए ।

हाल माल्दिभ्सको प्रिमियर लिग क्लब टीसी स्पोर्ट्मा अनुबन्धित रहेका उनले

बंगलादेशमा भएको शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा टीसी स्पोर्ट्सलाई च्याम्पियन बनाएका थिए।

लिम्बु हाल माल्दिभ्समा रहेकाले उनकी आमाले अवार्ड लिएकी थिइन्।

यस्तै उत्कृष्ट महिला खेलाडीको उपाधि ब्याडमिन्टनकी नङ्सल तामाङले हात पारिन्।

एथलेटिक्सकी कान्छीमाया कोजु, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सरस्वती भट्टराईलाई पछि पार्दै उनी वर्षकी उत्कृष्ट महिला खेलाडी भएकी हुन्।

उनी नेपाली महिला ब्याडमिन्टनकी नम्बर एक खेलाडी हुन्। देशभित्रै भएका पुष्पलाल स्मृति, कृष्णमोहन स्मृति र खुला राष्ट्रिय ब्याडमिन्टनमा उनी च्याम्पियन बनेकी थिइन्।

यस्तै जुडो खेलाडी मनिता श्रेष्ठ युवा वर्ष खेलाडी २०७३ भएकी छन्।  मिनिताले कोचीमा भएको १० औं क्याडेट एसियन जुडो च्याम्पियनसिपमा मुलुकका लागि कास्यपदक जितेकी थिइन् ।

सातौं राष्ट्रिय खेलकुद, उपत्यकाव्यापी अम्बिका मेमोरियल च्याम्पियनसिप र ओलम्पिक डे सिनियर जुडोमा समेत स्वर्ण जितेकी उनलाई उत्कृष्ठ महिला खेलाडीको रूपमा सम्मान गरिएको हो।

यस्तै म्याराथन र हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी सशस्त्र प्रहरी बलकी खेलाडी कान्छुमाया कोजुले पिपुल्स च्वाइस विधामा अवार्ड जितेकी छन्। अघिल्लो वर्ष आयोजित ५ वटा हाफ म्याराथनमा स्वर्ण जितेकी उनले सहभागी सबै म्याराथुन जितेकी थिइन्।

एसएमएस भोटिङ र फेसबुक लाइकको आधारमा सबैभन्दा बढी ६० हजारभन्दा बढी भोट पाएकी उनले अवार्ड पाएकी हुन्।

यस्तै एथलेटिक्सका पुष्पराज ओझाले वर्षको उत्कृष्ट प्रशिक्षकको उपाधि जिते। क्रिकेटका जगत टमाटा, फुटबलका ग्योतोकु कोजी र मेघराज केसी तथा ब्याडमिन्टनका किरण थापालाई पछि पार्दै उनी वर्षका उत्कृष्ट प्रशिक्षक चुनिएका हुन्।

रियो ओलम्पिकमा नेपालका तर्फबाट सहभागी सरस्वती भट्टराई र हरिकुमार रिमालको प्रशिक्षकका रुपमा उनले काम गरेका थिए।

आर्मी क्लबका समेत प्रशिक्षक रहेका ओझाले सातौं राष्ट्रिय खेलकुदमा आर्मीलाई २२ स्वर्ण, १६ रजत र ८ कांस्यपदक दिलाउन सफल भएका थिए।

यस्तै कैदीबन्दिहरुका सन्तानलाई जुडो प्रशिक्षण गराउँदै अन्तर्राष्ट्रिय खेलाडी जन्माउन सफल बन्दी सहायता निगम (पाम) ले वर्ष २०७३ को स्पेशल अवार्ड हात पारेको छ।

त्यससँगै प्यारा एथलेटिक्स अफ द इअरको अवार्ड नेपाली दृष्टि विहिन क्रिकेट टिमका सदस्य पदम बडेलाले हात पारेका छन्। बडेलाले भारतमा भएको दृष्टिविहिन टी २० विश्वकपमा दोहोरो शतक सहित २ सय ११ रन बनाएका थिए।

यस्तै मनिता श्रेष्ठ प्रधान यसै अवार्डमा वर्षको उत्कृष्ट युवा खेलाडीबाट सम्मानित भएकी थिइन्।

कार्यक्रममा टिम अफ द इअरबाट नेपाली राष्ट्रिय भलिबल टोलीलाई सम्मान गरिएको थियो।

राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मपन्न अवार्ड कार्यक्रममा नेपालको पहिलो प्रो गल्फर तथा गल्फका प्रशिक्षक घनश्याम थापालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।

१९७५ र १९७७ मा विश्वकप समेत खेलिसकेका उनले भारत र जर्मनीमा समेत प्रशिक्षकको भूमिका निभाईसकेका छन्।

नेपाल फर्केपछि उनले पूर्व युवराज दिपेन्द्र शाह र आर्मीका क्याडेडलाई गल्फ प्रशिक्षण गराएका थिए।

कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुतीका साथै प्रहसनसमेत प्रस्तुत गरिएको थियो। यस्तै काठमाडौं सरकसको विशेष प्रस्तुतीले कार्यक्रमको ध्यान तानेको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.