विराट अनुष्कासँग छुट्टी मनाउन अमेरिकातर्फ


वेष्ट इन्डिज भ्रमणबाट भारतीय टोली देश फर्किए पनि कप्तान विराट कोहली छुट्टी मनाउन आफ्नो प्रेमिका अनुष्का शर्मासँग अमेरिकातर्फ लागेका छन्।

श्रीलंकाको आगामी भ्रमणअगाडि उनी छुट्टी मनाउन बलिउड नायिका तथा लामो समयदेखिकी प्रेमिका अनुष्कासँग न्युयोर्कतर्फ लागेका हुन्।

भारतको सबैभन्दा चर्चित जोडीको उपमा पाएका विराट–अनुष्का न्युयोर्कमा आयोजना हुन लागेको आइफा अवार्डमा सम्मिलित हुन त्यसतर्फ लागेको बताइए पनि उनीहरु धेरै अगाडि अमेरिका पुगेका हुन्। आइफा अवार्ड १५ जुलाई अर्थात शनिवार आयोजना हुँदैछ।

यसका लागि बलिउडका थुप्रै कलाकार अमेरिका पुग्ने सिलसिला जारी छ। बुधबार विराटले आफ्नो इन्स्टाग्राममा अनुष्कासँग खिचेको फोटो सेयर गरेका थिए। यसपछि उनका फ्यानलाई उनी कहाँ छन् भन्ने जानकारी भएको थियो।

यसअघि विराट र अनुष्काको तस्वीर बेङ्लोरमा दुवै खाना खादै गरेको अवस्थामा भाइरल भएको थियो। त्यतिबेला कुममा चोट बोकेका विराटलाई भेट्न अनुष्काले मुम्बईबाट विमान समातेकी थिइन्।

विराट र अनुष्काको अफेयर २०१३ देखि चलिरहेको छ। २०१५ मा यो जोडीबीच केही खटपट भएको खबर बाहिरिएको थियो। तर, २०१६ मा दुवै फेरि सँगै देखिएका थिए। उनीहरुले क्रिसमस देहरादुनमा सँगै मनाएका थिए। यतिबेला भारतीय क्रिकेट टिमका अर्का ब्याट्सम्यान युवराज सिंह र उनको श्रीमति हेजल किच पनि विराट र अनुष्कासँग थिए।

भारतीय क्रिकेट टिमका नवनियुक्त बलिङ प्रशिक्षक जाहिर खान र सागरिका घाटगेको विवाहमा पनि उनीहरु सँगै थिए।

भारतीय टिम ३ टेस्टको शृंखला खेल्न जुलाई २६ मा श्रीलंकातर्फ लाग्दैछ। भारतले ५ एकदिवसीय र एक टि–२० पनि खेल्नेछ। अमेरिकाबाट फर्किएपछि अनुष्का आफ्नो आगामी फिल्म ‘जब हेरी मेट सेजल’ को प्रमोसनमा व्यस्त हुने छिन्। शाहरुख खान हिरो भएको यो चलचित्र ४ अगस्टमा रिलिज हुँदैछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.