टेनिस स्टार जोकोविच बलिउड नायिका दीपिकासँग डेटिङ गर्दै


पूर्व विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोविच र बलिउडकी चर्चित नायिका दीपिका पादुकोणबीच डेटिङको खबर सुनेर सबैलाई आश्चर्य लाग्न सक्ला। तर, जोकोविचको पूर्व प्रेमिकालाई यसले खासै अचम्म लागेको छ्रैन्।

जोकोविचकी पूर्व प्रेमिका नतासा बेकवेलेकले हालै बेलायतको चर्चित डेली मेल पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेकी छिन्, ‘दीपिकासँग डेटिङ गरेर नोभाक जोकोविच निकै खुसी छन्।’

सर्बियाका चर्चित खेलाडी जोकोविचसँग नतासाको सम्बन्ध २०११ देखि २०१४ सम्म थियो, जतिबेला उनी जेलिना रिस्टिकसँग पनि दोहोरो सम्बन्धमा थिए। जेलिनासँग जोकोविचले पछि बिहे गरे।

तर, यो जोडीको सम्बन्ध अहिले राम्रो नभएको बिबिसीले जनाएको छ। जोकोविचको खराब प्रदर्शनको विषयमा बिबिसीले तयार पारेको एउटा रिपोर्टमा जेलिनासँग टेनिस स्टारले झगडा गर्दै गरेको देखिएको थियो।

जोकोविचकी पूर्व प्रेमिकाले दीपिकासँग जोडेर त्यतिकै बयान दिएकी होइनन्। गत मार्चमा जोकोविच र दीपिका लस एञ्जलसमा सँगै देखिएका थिए। उनीहरुले ‘द नाइस गाय’ नामको रेष्टुराँमा सँगै डिनर गरेका थिए। डिनरपछि दुवै एउटै गाडीमा निस्किएका थिए। तर, त्यतिबेला विदेशी मिडियाले दीपिकाको पहिचान राम्रोसँग गर्न नसकेको हुनाले त्यति महत्व दिएका थिएनन्।

उनीहरुले दीपिकालाई जोकोविचको श्रीमति जेलिनाको साथी भनेर हल्का समाचार मात्र बनाएका थिए। दुई जना डिनरमा हुँदा जेलिनासँगै थिइनन्।

दीपिकाको परिवारले २०१५ को विम्बल्डनको फाइनलमा जेलिनासँग भेट्दै गरेको तस्बिरका कारण यसलाई पारिवारिक जमघटको रुपमा मिडियाले लिएको थियो। दीपिकाले २०१४ मा इन्टरनेशनल प्रिमियर टेनिस लिग प्रतियोगिताको प्रदर्शनी खेलमा मिक्स डबल्समा जोकोविचको साथी भएर खेलेकी थिइन्।

दीपिकाको फिल्म गत वर्ष ‘ट्रिपल एक्स’ सार्वजनिक भएपछि उनले विश्वव्यापी चर्चा पाएकी थिइन्। पछिल्लो समय श्रीमतिसँग सम्बन्ध बिग्रिएपछि जोकोविच थुप्रै महिलाहरुसँग डेटिङमा देखिसकेका छन्। पछिल्लो समय उनी युक्रेनकी वकिल भिक्टोरियासँगको सम्बन्धका कारण पनि चर्चामा थिए। उनी डिजे लेडी लीसँगको सम्बन्धका कारण पनि चर्चामा छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.