एशियाली खेलमा जाने प्याराग्लाइडिङ २१ खेलाडी पोखरा छनोट


 

पोखरामा व्यवसायीक रूपमा फष्टाएको प्याराग्लाइडिङले अब भने खेलको रूप लिँदै छ। १८ औं एशियाली खेलकुदमा नेपालबाट प्याराग्लाइडिङ खेल खेल्न जाने भए पछि खेलाडीहरू मख्ख परेका छन् ।

इण्डोनेशियाको जाकर्तामा आयोजना हुने १८ औं एशियाली खेलकुदमा प्याराग्लाइडिङ खेलमा सहाभागिता जनाउने खेलाडीको बुधबार छनोट भएको छ।

एशियाली खेलकुदमा नेपालबाट इन्डिभिजुअल एकुरेसी, टिम एकुरेसी र टिम क्रसकन्ट्रीमा प्रतिष्पर्धा गर्दैछ। तीन वटै इभेन्टमा सहभागीता जनाउन २१ जना खेलाडी छनौट भएका छन् । बुधबार भएको एकुरेसी प्रतिस्पर्धा र अघिल्लो प्रतिस्पर्धाको नम्बरलाई जोडेर खेलाडी छनौट गरेको नेपाल हवाइ खेलकुद संस्थाका अध्यक्ष योगेश भट्टराईले बताए ।

एशियाली खेलमा पहिलो पटक समावेश हुन लागेको शाहसिक खेल प्याराग्लाइडिङ आमन्त्रित खेलका रुपमा रहने नेपाल प्याराग्लाइडिङ तथा ह्याङ ग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले बताए । टिम क्रसकन्ट्रीमा विश्वमा टप टेन भित्र नेपालका ६ जना खेलाडी समेत रहेका छन् । नेपालले अन्य देशमा भएका प्रतियोगितामा राम्रो प्रर्दशन गरेका कारण मेडल जित्ने रावत बताउ छन् । उनले नेपाल भन्दा कोरियार र जापानीज खेलाडी अगाडी रहे पनि नेपालले गोल्डमेडल जित्ने उनको भनाई छ ।

इण्डोनेशियाको जर्कातामा १८ अगस्त देखि सेप्टेम्बर २ सम्म १८ औं एशियाली खेलकुद प्रतियोगिता हुदैछ । सो प्रतियोगितामा सहभागी हुन टिम क्रसकन्ट्री तर्फ बिशाल थापा, शुसिल भट्टराई, शेर बहादुर गुरुङ, बिमल अधिकारी, बिजय दाहाल, कृष्ण बहादुर सुनुवार, आशिष थापा, निशिन थापा, सुरज थापा र अनिश भट्टराई छनौट भएका छन् । त्यसै गरि इन्डिभिजुअल एकुरेसी र टिम एकुरेसी तर्फ ऋषी पोडे, नारन पराजुली, युबराज सुनुवार, मदन कुमार सुनुवार, शुवास थापा, अनिष भट्टराई, युकेश गुरुङ, बिजय गौतम, सबिन राना मगर, बिशाल थापा र भुवन आचार्य छन् । ति मध्ये युकेश गुरुङ कान्छा खेलाडी हुन । १६ वर्षका युकेशले हाल एसइई परिक्षा समेत दिइरहेका छन् । प्याराग्लाइडिङ खेलका नेपालका टिम क्याप्टेन विमल अधिकारीले युवाहरु धेरै भएका कारण उपाधी जितेर आउने बताए ।

बुधबार २१ जना छनौट भएका खेलाडीबाट टिम क्रसकन्ट्रीका लागि ५ जना र इन्डिभिजुअल एकुरेसी, टिम एकुरेसीका लागि ५ जन गरि १० जना खेलाडी छनौट गर्ने नेपाली टिमका टिमकोच सानुबाबु सुनारले बताए । उनले खेलाडीहरुलाई प्रतियोगिता भन्दा अगाडी चिनमा हुने प्रतिस्पर्धामा सभागी बनाउने र बन्द प्रशिक्षणमा राख्ने बताए ।

नेपालले एशियाली खेलकुदमा १७ वटा खेलमा सहभागीता जनाउदै छ । एशियाली खेलमा ४५ देशले सहभागिता जनाउने भए पनि प्याराग्लाइडिङ तर्फ ३० भन्दा वढी देशको सहभागिता रहने अपेक्षा गरिएको छ । हाल प्याराग्लाइडिङ खेल नेपालको पोखरा, स्याङजा, धरान र सुर्खेत हुने गरेको छ । पोखरामा मात्रै ६० भन्दा बढी प्याराग्लाइडिङका व्यवसायिक कम्पनीहरु रहेका छन भने नेपालमा करिब ४ सय व्यवसायीक पाइलटहरु छन् । एशियन खेलमा नेपाल पदक विहिन हुर्दै आएको छ । यस वर्ष प्याराग्लाइडिङको समाबेस पछि नेपाल पदक विहिन हुनु पर्दैन की ?

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.