साग कास्य विजेता पुनलाई पछि पार्दै रमेशले जिते आर्चरी उपाधि


स्वयम्भू रिक्रिएसन सेन्टरका रमेश भट्टचन लक्ष्मणकुमार श्रेष्ठ स्मृति चौथो राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको पुरुष व्यक्तिगत रिकर्भ स्पर्धामा पहिलो भएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको फाइनलमा रमेशले कास्की जिल्ला आर्चरी संघका अशिम शेरचनलाई ६–० ले पराजित गरे।

१२ औं दक्षिण एसियाली खेलकुद (साग) का कास्य विजेता स्वयम्भूका प्रेमप्रसाद पुन तेश्रो स्थानमा चित्त बुझाउन बाध्य भए। सोही स्पर्धाको महिलामा नेपाल आर्मी क्लबकी ज्ञानु अवाले पहिलो भइन्। फाइनलमा ज्ञानुले कास्कीकी रश्मी दर्लामीलाई ६–० ले हराइन्। कास्कीकै राज्यलक्ष्मी जोशी तेश्रोमा सीमित भइन्।

नेपाल आर्चरी संघद्वारा आयोजित प्रतियोगिताको पुरुष व्यक्तिगत स्ट्यान्डर्डमा अन्नपूर्ण आर्चरी क्लबका देउबहादुर रोका मगर पहिलो भए।

उनले फाइनलमा आर्मीका डम्बर थापाको चुनौती ६–० ले समाप्त पारे। द बेस्ट आर्चरी क्लबका ग्रिष्म गुरुङले कास्य हात पारे। यसै स्पर्धाको महिलातर्फ आर्मीकी केशरी आले मगरले स्वर्ण चुमिन्। उपाधि भिडन्तमा केशरीले अन्नपूर्णकी रोजिना थापा मगरलाई ६–२ ले पाखा लगाइन्। अन्नपूर्णकी सेलिना गुरुङ तेश्रो भइन्।

पुरुष व्यक्तिगत कम्पाउन्डमा कञ्चनपुर जिल्ला आर्चरी संघ होमबहादुर थापा मगर शीर्ष स्थानमा रहे। उनले राजधानीका सनातन मल्लमाथि १३२–१३१ को कठिन जित निकाले। बेस्टका प्रजित अग्रवाल तेश्रो बने।

पुरुष रिकर्भ टिममा स्वयम्भू पहिलो, कास्की दोश्रो र अन्नपूर्ण तेश्रो भए। पुरुष स्ट्यान्डर्ड टिममा बेस्टले स्वर्ण, अन्नपूर्णले रजत र स्वयम्भूले कास्य जिते।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.