कोर्टमा फर्कँदै सेरेना विलियम्स


पूर्व विश्व नम्बर एक  टेनिस खेलाडी सेरेना विलियम्स  कोर्टमा फर्कने भएकी छिन्। आमा बनेको करिब चार महिनाकाे अवधिपछि उनी खेलमा फर्कने भएकी हुन्।

 सेरेनाले गत सेप्टम्बरमा छोरी एलेक्सिस ओलम्पिया ओहानियनलाई जन्म दिएकी थिइन्। त्यस्तै उनले नोभेम्बरमा एलेक्सिस ओहानियनसँग विवाह गरेकी थिइन्।च्याम्पियनसिपको अफिसियल वेबसाइटमा सेरेनाले भनेकी छिन्, ‘म निकै खुुसी छु, सेप्टेम्बरमा छोरी जन्मिएपछि म पहिलोपटक अबुधाबीको कोर्टमा खेल्दैछु।’

विश्व टेनिसमा कीर्तिमानी २३ औं ग्राण्डस्लाम उपाधि जितेकी सेरेना गत बर्षको जनवरीपछि टेनिस कोर्टमा देखिएकी छैनन्। गत वर्षको जनवरीमा अष्ट्रेलियन ओपनको उपाधि जितेपछि सेरेना पहिलोपटक कोर्टमा उत्रने भएकी हुन्। उनले सात पटक अष्ट्रेलियन ओपन जितिसकेकी छिन्।

यसै डिसेम्बर ३० मा हुने प्रदर्शनी खेलमा सेरेनाले सातौं वरियताकी लाटभियाकी जेलेना ओस्टापेन्को विरुद्ध मैदान उत्रँदै टेनिस कोर्टमा पुनरागमन गर्नेछिन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.