कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ।
मंगलबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यले लोगो र मस्कट सार्वजनिक गरेका हुन्।
लोगो बिकास तमखुले तयार गरेका हुन्। लोगोमा कर्णाली नदी, नेपालको झण्डा, सात प्रदेश, नेपालको हिमाल, पहाड र तराई तथा शान्तिको प्रतिक परेवा अंकित छ।
यस्तै मस्कट पनि बिकासले नै डिजाइन गरेका हुन्। यसपटकको मस्कट कर्णाली प्रदेशमा पाइने दुर्लभ जनावर रेड पाण्डाको छ।


दसौं राष्ट्रिय खेलकुद २०८२ जेठ ३ देखि १० गतेसम्म हुने तय छ।
दुई वर्षअघि पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने निर्णय गरिएको थियो।
यसअघि मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा आयोजना गरिने घोषणा गरिएको थियो तर तोकिएको मितिमा खेलकुद भएन। त्यसपछि चैत २३ देखि ३० गतेसम्म प्रतियोगिता आयोजना गर्ने गरी मिति सारिएको थियो।
दसौं राष्ट्रिय खेलकुदमा ३५ खेलमा ४ सय १९ स्पर्धामा प्रतिस्पर्धा हुने प्रस्ताव छ।