दक्षिण एसियाली ओलम्पिक काउन्सिलले १४औं दक्षिण एसियाली खेलकुद (साग) सन् २०२६ को जनावरी २३ देखि ३१ सम्म आयोजना गर्ने निर्णय गरेको छ।
यसअघि नै पाकिस्तानमा आयोजना हुने तय भएको १४औं संस्करणको साग पाकिस्तानको लाहोर, इस्लामावाद र फैसलावादमा हुने निर्णय भएको छ।
सन् २०१९ मा नेपालमा १३औं संस्करणको साग भएपछि प्रतियोगिता हुन सकेको छैन। त्यतिबेला २०२१ मा साग गेम्स गर्ने भनिएको थियो। तर कोभिड-१९ ले साग धकेलिएको थियो। पछिल्लो पटक भने भारतले चासो दिएको छैन।
बैठक पाकिस्तानको लाहोरस्थित अवारी होटलमा भएको थियो। बैठकमा दक्षिण एसियाली ओलम्पिक परिषद्का अध्यक्ष तथा पाकिस्तान ओलम्पिक एसोसिएसनका अध्यक्ष खालिद महमूदको अध्यक्षतामा सम्पन्न हुँदा सातै देशका ओलम्पिक कमिटीका प्रतिनिधिले सहभागिता जनाएका थिए। जसमा भारतको ओलम्पिक एसोसिएसनले अनलाइन रूपमा सहभागिता जनाएको थियो। नेपाल ओलम्पिक कमिटीको विवादित रूपमा तेस्रो कार्यकालका लागि अध्यक्ष बनेका जीवनराम श्रेष्ठले नेपालको तर्फबाट भाग लिएका थिए।
बैठकले मिति घोषणा गर्नुका साथै प्रतियोगितामा थप दुई खेल समावेश गर्ने निर्णय गरेको छ। यसअघि प्रतियोगितामा २७ खेल हुने पक्का भइसकेको थियो। आयोजक पाकिस्तानले थप दुई खेल राख्न पाउनेछ।
चारभन्दा कम राष्ट्रले सहभागिता जनाएमा त्यो खेल हटाइने भएको छ। खेलको विस्तृत विवरण टुंग्याउनका लागि अर्को बैठक मार्च २०२५ मा आयोजना गरिनेछ।
यस्तै परिषद्को संशोधन समिति गठन गरिएको छ। जसले संगठनको विधान परिमार्जन र अद्यावधिक गर्नेछ। खेलको इभेन्ट बारेमा मार्चमा बैठक हुने छ र अप्रिल अन्त्यमा टेक्निकल बुक वितरण गरिनेछ। विधान संशोधन को लागि परिषदका अध्यक्षको संयोजकत्वमा कमिटी गठन भएको छ।