विश्वकपमा छानिएला अर्जेन्टिना? पर्सि हुँदैछ फैसला


फुटबल स्टार लियोनल मेस्सीको टिम अर्जेन्टिनाको विश्वकप सहभागिताको फैसला बुधबार बिहान हुने भएको छ।

नेपाली समयअनुसार बुधबार बिहान ५:१५ मा हुने इक्वेडरसँगको खेल जितेमा अर्जेन्टिनाको विश्वकप सम्भावना बाँकी रहने छ। तर, जीत निकाल्न नसकेमा रसिया विश्वकपमा अर्जेन्टिनाको सम्भावना समाप्त हुनेछ। दक्षिण अमेरिकी देशहरूबाट अंक तालिकामा माथिल्लो स्थानमा रहेका चार टिम विश्वकपका लागि छनोट हुनेछन्।

पेरूसँग गोलरहित बराबरी खेलेपछि अर्जेन्टिना छैटौं स्थानमा छ। इक्वेडरसँगको खेल अर्जेन्टिनाका लागि छनोट चरणको अन्तिम खेल हो। त्यसैले यही खेलले अर्जेन्टिनाको बाँकी बाटो तय गर्ने छ।

चौंथो र पाँचौं स्थानमा रहेका पेरू र कोलम्बियाबीचको खेल पनि यही समय हुँदैछ। यही समय पहिलो र तेस्रो स्थानमा रहेका ब्राजिल र चिलीबीच पनि प्रतिस्पर्धा हुँदैछ। ३८ अंकसहित ब्राजिल यसअघि नै छनोट भइसकेको छ। २८ अंकसहित दोस्रो स्थानमा रहेको उरूग्वेलाई बिहान हुने बोलिभियासँगको बराबरी नै पर्याप्त हुनेछ।

तेस्रो र चौंथो स्थानमा रहेका चिली र कोलम्बियाको समान २६ अंक छ। पाँचौ स्थानमा रहेको पेरूको र छैटौं स्थानमा रहेको अर्जेन्टिनाको २५-२५ अंक छ। कोलम्बियाले पेरूलाई हरायो भने अर्जेन्टिनाका लागि इक्वेडरसँग बराबरी नै छनोटका लागि पर्याप्त हुने छ। तर, यसका लागि २४ अंकसहित सातौं स्थानमा रहेको पाराग्वेले पनि भेनेजुएलासँग बराबरी वा हार व्यहोर्नु पर्छ।

भोलिको खेलमा चिली र कोलम्बिया दुवै दुई गोल अन्तरले पराजित भए भने पनि अर्जेन्टिना बराबरी खेलेर छनोट हुनसक्छ। अर्जेन्टिना शीर्ष चारमा पर्न सकेन भने उसका लागि पाँचौ स्थानमा रहँदे प्ले अफ मार्फत विश्वकपको बाटो तय गर्ने सम्भावना बाँकी हुन्छ।

(सच्याइएको)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.