पोल्याण्ड र इजिप्ट विश्वकपमा सुरक्षित स्थान बनाउन सफल


सदाबहार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले युरोपियन छनोटमा १६ गोल गर्दै कीर्तिमान बनाएपछि पोल्याण्ड  विश्वकपमा छनोट भएको छ।

आइतबार चिर प्रतिद्वन्द्वी मोन्टेनेग्रोलाई ४—२ गोलअन्तरले हराएपछि पोल्याण्ड समूह विजेता बन्दै छनोट भएको हो। पोल्याण्ड सन् २००६ पछि पहिलोपटक छनोट भएको हो।

खेलको सुरूआतमा पोल्याण्डले  २—० को अग्रता लिएपनि मोन्टेनेग्रो दोस्रो हाफमा बराबरी गर्न सफल रह्यो । यसपछि लेवान्डोस्कीले पाँच मिनेट बाँकी हुँदा गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाएका थिए।

 

यसैगरी, लिभरपुलका मोहमद सलाहले इन्ज्युरी समयको दोस्रो मिनेटमा विजयी गोल गरेपछि इजिप्ट विश्वकपमा छनोट भएको हो। कंगो विरुद्द  २—१ को जीतमा दुवै गोल सलाहले गरे।

इजिप्ट सन् १९९० पछि पहिलोपटक विश्वकपमा छनोट भएको हो । अर्को यूरोपेली राष्ट्र डेनमार्कले भने रोमानियासँग १—१ को बराबरी खेल्दै प्लेअफमा स्थान पक्का गरेको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.