अफ्रिकी राष्ट्र इजिप्ट २८ वर्षपछि अर्को साल हुने विश्वकप फुटबलका लागि छानिएको छ। आइतबार राति भएको छनौट खेलमा कंगोलाई २-१ ले हराएर इजिप्टले सन् १९९० पछि पहिलो पटक विश्वकपमा स्थान सुरक्षित बनाएको हो। समूह 'ई' को इजिप्टले अन्तिम खेल खेल्न बाँकी हुँदै रसियामा हुने विश्वकप-२०१८ मा लागि टिकट पाएको हो।
इजिप्टको जितका लागि लिभरपुल क्लबबाट पनि खेल्ने मोहमद सलाहले खेलको ६३ औं पहिलो गोल गरेका थिए।
८८ औं मिनेटमा कंगोका अर्नोल्ड बाउकाले बराबरी गोल फर्काए।
सलाहले नै दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेट पेनाल्टीमार्फत गोल गरेपछि इजिप्टको विश्वकप यात्रा सुरक्षित भएको हो।
इजिप्ट २०१८ को विश्वकपमा छानिएको दोस्रो अफ्रिकी राष्ट्र हो। अर्को अफ्रिकी देश नाइजेरिया यसअघि नै विश्वकपका लागि छनौट भइसकेको छ।
२८ वर्षपछि आफ्नो देश विश्वकप खेल्ने भएपछि इजिप्टभरि खुसीयाली छाएको सञ्चारमाध्यमले जनाएका छन्।