नेइमार र काभानीबीच भनाभन


फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्डबीच पेनाल्टी हान्ने विषयमा भएको विवादले टकराव सिर्जना गरेको छ।

महत्वपूर्ण फरवार्डबीचको विवाद निरन्तर सार्वजनिक भइरहँदा क्लबको प्रदर्शनलाई असर गर्ने देखिएको भन्दै क्लब व्यवस्थापन तनावमा छ

पेनाल्टी हान्ने विषयमा खेलकै दौरान विवाद गरेका ब्राजिलियन फरवार्ड नेइमार र उरुग्वेयन फरवार्ड काभानीले खेल सकिएपछि पनि विवाद गरेका थिए। ड्रेसिङ रुपमा काभानीले नेइमारलाई विवादको क्रममा ‘यो को हो?, तिमीले आफूलाई मेसी जस्तै ठानेका छौ ‘ भनेर प्रश्न गरेका थिए।

विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी आएका नेइमार र काभानीलाई पेनाल्टी विवादपछि अहिलेसम्म एक अर्कालाई आँखामा आँखा जुधाएर हेरेको देखिएको छैन। तर काभानीले नेइमारलाई ‘आफूलाई मेसी सम्झन्छौ’, भनेको कुरा सार्वजनिक भएपछि उनीहरुबिचको सम्बन्ध सुरुवातदेखि नै राम्रो नरहेको देखिएको छ।

स्पेनिस पत्रिका एल पाइसका अनुसार काभानीले नेइमारलाई सुरुवातमा नै राम्रो व्यवहार गरेका थिएनन्। काभानीले नेइमार पहिलो पटक पिएसजीको ड्रेसिङ रुममा छिरेका बेला ‘यो को हो ? के तिमी आफूलाई मेसी ठान्छौ?’ भनेको एल पाइसले दाबी गरेको छ । काभानीले मजाक गरेका थिए वा नेइमारको अपमान गर्न त्यसो भनेका थिए भन्ने खुलेको छैन । तर यसले सम्बन्धमा सुरुमा नै चिसोपन बढाउन सहयोग गरेको विश्लेषण भने गरिएको छ।

काभानी ४ वर्षअघि नापोलीबाटै पिएसजीमा आबद्ध भएका थिए। फ्रेन्च लिगअन्तर्गत गत साता लियोनविरुद्ध भएको खेलमा पेनाल्टी हान्ने विषयलाई लिएर नेइमार र काभानीबीच मैदानमै विवाद देखिएको थियो। नेइमार पेनाल्टी प्रहार गर्न जाँदा उनलाई मैदानमा रोकेर उरूग्वेका स्ट्राइकर काभानीले हानेका थिए। यो घटनापछि दुवैबीच ड्रेसिङ रुममा पनि झगडा परेको थियो।

काभानीले ड्रेसिङ रुपमै विवाद गरेपछि नेइमारले क्लबका मालिक नासिर अल खालिफासँग सिधै गफ गरेर काभानीसँग मिलेर खेल्न असम्भव भएको भन्दै काभानीलार्इ बेच्न माग गरेका थिए।

यता क्लबले अबका पेनाल्टी नेइमारलाई हान्न दिने प्रक्रिया अघि बढाए पनि काभानीले अस्वीकार गरेका छन्। पिएसजीले काभानीलाई १० लाख युरो बोनस दिन खोजेको थियो। उनले बोनस लिन अस्वीकार गरेका छन् र आगामी पेनाल्टी पनि आफैं हान्ने अडान लिएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.