युवराज खड्काको निर्णायक गोलको मद्धतले विभागीय सशस्त्र प्रहरीको एपिएफ क्लब झापामा जारी दुधे गोल्डकको फाईनलमा प्रवेश गरेको छ।
दुधे खेलमैदानमा सोमबार भएको अन्तिम सेमिफाईनलमा हिमालयन शेर्पाको चुनौती २-१ ले पन्छाउँदै एपिएफ उपाधि नजिक पुगेको हो।
एपिएफले अब दुधे गोल्डकपको उपाधिका लागि काठमाडौंकै चर्च व्वाइजसँग खेल्नुपर्नेछ।
हिमालयन शेर्पाका लागि खेलको १५ औ मिनेटमा बिके लामाले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।
विदेशी खेलाडी अबाको पासमा लामाले गरेको कडा प्रहार सशस्त्रका गोलरक्षक राजु नगरकोटीको हातबाट फुत्किएर गोलमा परिणत भएको थियो ।
सशस्त्रका तर्फबाट खेलको ३७ औं मिनेटमा जर्सी नम्बर २७ का हरि कार्कीले गोल गर्दै टीमलाई बराबरीमा पुर्याए। सशस्त्रका कप्तान मिलन राईको पासलाई कार्कीले हेडमार्फत शानदार गोल गरे ।
खेलको ६७ औँ मिनेटमा सशस्त्रका रुपबहादुर लामाले प्रहार गरेको बललाई युवराज खड्काले हेड गर्दै गोल गरेका थिए।
खड्काको उक्त गोल नै निर्णायक बन्यो। खेलमा सशस्त्रका श्याम नेपाली म्यान अफ द म्याच भए। उनलाई पूर्व कानुन मन्त्री अग्नि खरेलले नगद ५ हजारसहित पुरस्कृत गरे ।
गएको असोज ४ गतेदेखि शुरु प्रथम दुधे गोल्डकपका लागि विभागीय २ सहित ८ वटा टिमले सहभागिता जनाएका थिए। प्रतियोगिताको फाईनल खेल असोज ११ गते हुने आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले बताए।