चर्च ब्वाइज झापाको दूधेमा जारी प्रथम संस्करणको दूधे गोल्डकपको उपाधि नजिक पुगेको छ। आइतबार मोरङ–११ लाई ४–० को भारी गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो।
पहिलो हाफको १० औं मिनेटमा अरूण श्रेष्ठको गोलबाट अग्रता लिएको चर्च व्वाइजले ३२ औं मिनेटमा अग्रता दोब्बर बनायो।
मोरङ ११ का गोल रक्षक सूर्य अधिकारी हिलाम्मे मैदानमा लड्दा श्रेष्ठले सहजै पहिलो गोल गरेका थिए। ३२ औं मिनेटमा चर्च ब्वाइजका लागि विदेशी खेलाडी अलिवा मेसीले अर्को एक गोल थप्दै टिमको स्कोरलाई दोब्बर बनाएका हुन्। उनले डि–बक्स बाहिरबाट प्रहार गरेको फ्रिकिको बलले जाली चुमेको थियो ।
दोस्रो हाफमा झन् आक्रमक देखिएको चर्च ब्वाइजका लागि १४ औं मिनेटमा अर्का विदेशी खेलाडी अजय मार्टिन केले गोल गर्दै चर्च ब्वाइजको जीत सुनिश्चित गरे। दोस्रो हाफकै २३ औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल तथा चर्च ब्वाइजका लागि चौथो गोल गर्दै अन्तरलाई झन् फराकिलो बनाए। उनले डि–बक्स बाहिरबाट प्रहार गरेको बलले सोझै जाली चुमेको थियो ।
पहिलो हाफको २२ औं मिनेटमा मोरङका खेलाडी दिपक राईले प्रहार गरेको गोल पोष्टको बार नजिकैबाट बाहिरियो । २६ औं मिनेटमा सुनिल खड्का खाली पोष्टमा गोल गर्न चुके। उनले प्रहार गरेको बल गोल पोष्टबाट बाहिरियो। दोस्रो हाफको १७ औं मिनेटमा चर्च ब्वाइजका विदेशी खेलाडी मार्टिनको प्रहार पनि बाहिरिँदा स्कोर स्थिर रह्यो।
खेल अवधिभर मोरङले आधा दर्जनभन्दा बढी गोल गर्ने अवसर गुमाएको थियो ।
खेलमा दुई गोल गरेका चर्च ब्वाइजका विदेशी खेलाडी अजय मार्टिन के म्यान अफ द म्याच घोषित भए । उनले नगद ५ हजार पाएका थिए ।
भोलि दोस्रो सेमिफइनलमा हिमालयन शेर्पा क्लबले एपीएफसँग प्रतश्पर्धा गर्ने आयोजक समितिका सचिव दर्शन तुम्बाफोले बताए।