अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुइरोको ह्याट्रिकमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गराएको छ।
शनिबार राति भएको खेलमा सिटीले वार्डफोर्डलाई ६–० फराकिलो अन्तरमा पराजित गरेको हो। उत्कृष्ट लयमा देखिएको सिटीले पछिल्ला तीन खेलमा १६ गोल गरिसकेको छ। अघिल्लो खेलमा पनि लिभरपुललाई ५–० गोलले हराएको थियो।
सिटीलाई रवाफिलो जित दिलाउने क्रममा अगुइरो ह्याट्रिकसँगै गाब्रियल जिसस, निकोलस ओटामेन्डी र रहिम स्ट्रर्लिङले एक एक गोल गरे। खेलको २७ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाएका थिए। ३१ औं मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो तथा ३७ औं मिनेटमा जिससले गोल गरेपछि सिटीले पहिलो हाफमा ३–० को अग्रता लियो ।
सिटीले दोस्रो हाफमा थप तीन गोल गर्यो । ६३ औं मिनेटमा ओटामेन्डीले गोल गर्दै अग्रता ४–० मा पुर्याए । ८१ औं मिनेटमा अग्युरोले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।
खेल सकिन १ मिनेट बाँकी छँदा पाएको पेनाल्टी अवसरमा स्ट्रर्लिङले गोल गरेपछि सिटी ६–० ले विजयी भयो।
यो ह्याट्रिकसँगै सन् २०११ मा सिटी आएका अग्युरोले अहिलेसम्म एक सय ७५ गोल गरेका छन् । एक सय ७७ गोल गर्ने एरिक ब्रुक सिटीका सर्वाधिक गोलकर्ता हुन्।
गएरातिको जितपछि पाँच खेलबाट १३ अंक भएको सिटी शीर्ष स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड १० अंकसहित दोस्रो स्थानमा छ।
अर्को खेलमा लिभरपुललाई बर्नलीले १–१ गोलको बराबरीमा रोकेको छ। २७ मिनेटमा आरफिलले गोल गरेर बर्नलीलाई अग्रता दिलाए। ३ मिनेटपछि लिभरपुलका सलाहले बराबरी गोल फर्काएका थिए।
अन्य खेलमा साउथह्याम्टनले क्रिस्टल प्यालेसलाई १–०, न्युकासलले स्टोक सिटीलाई २–१ गोलले हराए। हडर्सफिल्ड र लेस्टर सिटीले १–१ तथा वेस्ट बु्रम र वेस्ट ह्यामले गोलरहित बराबरी खेलेका छन्।