पाउलिन्हाले खेल सकिन ६ मिनेट बाँकी हुँदा निर्णायक गोल गरेपछि बार्सिलोनाले गेटाफेलाई २–१ ले पराजित गरेको छ।
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार चौथो जित दर्ता गर्ने क्रममा शनिबार राति भएको खेलमा गेटाफेलाई २–१ ले हराउँदै विजयी यात्रा जारी राखेको हो।
अवे मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन पहिलो गोल डेनिस स्वारेजले गरे। गेटाफेका लागि शिबासाकीले एक गोल गरे । खेलको ३९ औं मिनेटमा शिबासाकीको गोलबाट गेटाफेले सुरुवाति अग्रता लियो।
पहिलो हाफमा १–० ले पछि परेको बार्सिलोनाका लागि ६२ औं मिनेटमा डेनिसले बराबरी गोल फर्काए।
यहि सिजन इंग्लिस क्लब टोटनह्यामबाट बार्सिलोनामा आबद्ध भएका पाउलिन्होले लिओनल मेसीको पासमा ८८औं मिनेटमा गोल गरेका थिए। उनी खेलको ७७ मिनेटमा इभान राकिटिकको स्थानमा मैदान प्रवेश गरेका थिए। यसपछि कुनै गोल भएन र बार्सिलोना २–१ ले विजयी भयो।
खेलमा बार्सिलोनाका युवा फरवार्ड ओस्मान डेम्बेले घाइते भए। देब्रे खुट्टामा हामस्ट्रिङको समस्या भएपछि डेम्बेले बीचैमा खेल त्यागेर बाहिर निस्किएका थिए। गएरातिको जितसँगै बार्सिलोनाले सिजनमा शतप्रतिशत नजिता निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा छ। लागतार चार खेलमा जित निकालेको बार्सिलोना १२ अंक जोडेको छ।
राति नै भएको खेलमा एथ्लेटिको मड्रिडले मालागालाई १–० ले हरायो । चार खेलबाट ८ अंक जोडेको एथ्लेटिको तेस्रो स्थानमा उक्लिएको छ । राति नै भएका अरु खेलमा रियल बेटिसले डिप्रोटिभो डि लाकोरुनालाई २–१ ले हरायो । भ्यालेन्सिया र लेभान्टेले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्।