एपिएफलाई हराउँदै प्रथम इप्यानेट जेसिज कप फुटवलको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ।
सोमबार नारायणगढको क्याम्पाचौरमा भएको फाईनलमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफलाई २-१ गोल अन्तरमा हराउँदै उपाधिमाथि बक्जा जमाएको हो।
मनाङले उपाधीसँगै नगद ३ लाख ५० हजार रूपैया पाएको छ। उपविजेतामा चित्त बुझाएको एपिएफले ट्रफीसँगै नगद १ लाख ७५ हजार प्राप्त गर्यो। विजेता उपविजेतालाई नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष प्रकास प्रसाद अधिकारीले पुरस्कार प्रदान गरे।
पहिलो हाफमा दुई शून्यको अग्रता लिए मनाङले दोस्रो हाफमा आफ्नो अग्रता जोगाउन सकेन। एपिएफले पहिलो हाफमा गोल गर्ने केही अवसरलाई सदुपयोग गर्न नसके पनि दोस्रो हाफमा आक्रमक प्रस्तुत भयो।
मनाङका लागि पहिलो हाफको १९ र ४० औं मिनेटमा सुजल श्रेष्ठले गोल गरे। एपिएफका लागि दोस्रो हाफको १९ औं मिनेटमा हरी कार्कीले गोल गरे।
खेलमा एपिएफका हरी कार्की प्लेयर अफ दि म्याच घोषित हुँदै नगद ५ हजार पाए। प्रतियोगिताको प्लेयर अफ दि सिरिज मनाङका सुजल श्रेष्ठ भए।
प्लेयर अफ दि सिरिजको पुरस्कार नगद १० हजारसँगै उनले धेरै गोलकर्ताबाट थप १० हजार प्राप्त गरे।
उत्कृष्ठ गोलकिपर मनाङकै दिनेश थापा भए। उनले पनि नगद १० हजार पुरस्कार पाए। उत्कृष्ट टिम घोषित झापा ११ ले नगद १० हजारनै प्राप्त गर्यो। गत १७ गतेदेखि सुरु भएको प्रतियोगितामा दुई विभागीयसहित १० टिमको सहभागीता थियो ।