लिभरपुलमाथि गोल वर्षा, ५–० को रवाफिलो जीतसहित सिटी शीर्ष स्थानमा


म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लिभरपुलमाथि सानदार जित हात पारेको छ। घरेलु मैदानमा शनिबार साँझ सम्पन्न खेलमा सिटीले १० खेलाडीमा सिमित लिभरपुललाई ५–० गोलको फराकिलो अन्तरले हराएको हो।

सर्जियो अगुइरोको गोलबाट खेलको २४ मिनेटमै सिटीले अग्रता लियो। प्रिमियर लिगमा यो गोलसहित अगुइरोले १ सय २४ गोल गर्दै प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने युरोप बाहिरका खेलाडी बनेका छन्।

खेलको ३७ मिनेटमा लिभरपुलका साडियो मानेलाई रेफ्रिले रातो कार्ड देखाएपछि लिभरपुल १० खेलाडीमा सीमित बन्यो। सिटीका गोलकिपर इडर्सनमाथि डरलाग्दो ट्याकल गरेपछि मानेले रातो कार्ड पाएका हुन्।

पहिलो हाफको इन्जुरी समयमा ब्राजिलियन फरवार्ड ग्राबियल जेससले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे।

पहिलो हाफ २-० ले अगाडि रहेको घरेलु टोलीले दोस्रो हाफमा खेललाई आफ्नो नियत्रणमा लियो। खेलको ५३ मिनेटमा जेससले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीको अग्रता ३–० मा पुग्यो।

लिरोए सेनले ७७ तथा दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गरी दुई गोल गरेपछि सिटीले ५–० को जित निकालेको हो।

यो जितसँगै सिटी ४ खेलबाट १० अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले एक खेल कम खेले पनि लगातार तीन खेलमा जित निकालेर ९ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ।

यस्तै सिटीसँग पराजित लिभरपुलले चार खेलबाट ७ अंकसहित सातौ स्थानमा छ।

यस्तै तालिकामा समान ४ खेलेको चेल्सी ९ अंकसहित तेस्रो स्थानमा छ। वार्टफोर्ड ८ अंकसहित चौथो र टोटनह्याम ७ अंकसहित पाँचौ स्थानमा छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.