सशस्त्र प्रहरी बल झापालाई हराउँदै विराटनगर स्पोर्टस् टिमले मोरङको बेलबारीमा आजदेखि सुरू भएको प्रथम बेलबारी गोल्डकपमा विजयी सुरूआत गरेको छ।
स्थानीय बेलबारी-११ स्थित मैदानमा शनिबार भएको उद्घाटन खेलमा विराटनगरले एपिएफ झापालाई १ का बिरुद्ध २ गोलले हराएको हो।
विराटनगरको जीतका लागि खेलको ५१ औं मिनेटमा नारायण पोख्रेल र ५४ औं मिनेटमा अशोक खवासले गोल गरे।
खेलको ६३ औं मिनेटमा सशस्त्रका शुसील राईले गोल फर्काए पनि टिमलाई हारबाट बचाउन सकेनन्। खेलमा बिराटका अशोक खवास म्यान अफ द म्याच भए।
प्रतियोगिताको एन्फाका उपाध्यक्ष किशोर राईले उद्घाटन गरेका हुन्।
एन्फा केन्द्रीय उपाध्यक्ष तथा धरान फुटवल एकेडेमीका अध्यक्ष राईले खेल अवधिभर उत्कृष्ट खेल्ने खेलाडीलाई नगद १० हजार प्रदान गरेका थिए।
गोल्डकपमा धनकुटा, झापा, मोरङ र सुनसरीका ८ टिमले भाग लिएका छन्।
गोल्डकपबाट प्राप्त आम्दानी खेलकुद क्षेत्रको विकास र बाढीपीडित बालबालिकाहरुको शैक्षिक सामाग्री जुटाउन खर्च गर्ने आयोजकले जनाएको छ।
गोल्डकपमा प्रथम हुनेलाई १ लाख ११ हजार १ सय १ र दोस्रो हुनेलाई ५१ हजार १ सय १ रुपैयाँ दिने आयोजकले जनाएको छ। यस्तै खेल अवधिभर म्यान अफ दि म्याचलाई पुरस्कृत गरिने अध्यक्ष राईले बताए।