विश्वकप छनोट खेलमा रेफ्रीको गलत निर्णय, रेफ्रीमाथि आजीवन प्रतिबन्ध


रूस विश्वकप छनोटका लागि भएको दक्षिण अफ्रिका र सेनेगलबिचको खेल फेरि हुने भएको छ।

फिफाले विश्वकप फुटबल २०१८ का लागि भएको दक्षिण अफ्रिका र सेनेगलबिचको खेलका रेफ्रीमाथि कारबाही स्वरूप आजीवन प्रतिबन्ध लगाउँदै यी दुई देशबिचको खेल फेरि हुने भएको हो।

खेल प्रभावित पारेको भन्दै फिफाले घानाका रेफ्री जोसेफ लाम्पटीमाथि आजीवन प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

रेफ्रीले सेनेगलका डिफेन्डर कालिदो काउलिबालीले ह्याण्डबल गरेको भन्दै दक्षिण अफ्रिकालाई गएको नोभेम्बरमा भएको खेलमा पेनाल्टी दिएका थिए। तर रिप्लेमा ह्याण्डबल नभई घुँडामा लागेको देखिएको थियो।

यो खेलमा दक्षिण अफ्रिका २–१ ले विजयी भएको थियो। दिनुनपर्ने पेनाल्टी दिएको भन्दै फिफाले लाम्पटीमाथि प्रतिबन्ध लगाएको हो।

अब दक्षिण अफ्रिका र सेनेगलबिचको खेल नोभेम्बरमा हुने फिफाले जनाएको छ।

सन् २०१८ रूस विश्वकपमा अफ्रिकी क्षेत्रको छनौट अन्तर्गत समूह ‘डी’ मा रहेका सेनेगल र दक्षिण अफ्रिका अहिले तेस्रो र चौथो स्थानमा छ। बुर्किना फासो पहिलो र केप वेर्डे आइल्याण्ड दोस्रो स्थानमा छन्। समूहको शीर्ष स्थानमा रहने टिम मात्रै रूस विश्वकपका लागि छनोट हुनेछ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.