एएफसी एसियन कपको छनोट अन्तर्गत ताजिकिस्तानसँग नेपाल २-१ ले पराजित भएको छ। सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा नेपालले पहिलो हाफमै दुई गोल खाएको थियो। दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको नेपालले खेलको ६०औं मिनेटमा १ गोल फर्कायो। नेपालका लागि बिमल घर्तिमगरले गोल गरे।
यसअघि खेलको ३० मिनेटमा २ गोलले पछि परेको नेपालले पहिलो गोल खाएको ५ मिनेट भित्रै दोस्रो गोल खान पुगेको थियो।
खेलको २५औं मिनेटमा ताजिकिस्तानले गोलको अग्रता बनाएको थियो। उसका लागि उमरवेभले प्रहार गरेको कर्नर किकलाई जालिलोभ मानुचेरले हेडमार्फत गोल गरे।
पहिलो गोल गरेको पाँच मिनेटपछि नै ताजिकिस्तानले अर्को गोल थप्यो। अलिभले प्रहार गरेको बल किरण चेम्जोङले राम्ररी कलेक्ट गर्न नसक्दा फर्किएको बललाई भासिव दिल्सोभले गोल गर्दै अग्रता दोब्बर बनाए।
नेपालले एसियन कप छनोटको यसअघिका दुई खेलमा जित निकाल्न सकेको छैन। फिलिपिन्सबिरुद्ध उसकै मैदानमा ४-०को फराकिलो पराजय बेहोरेको नेपालले हलचोक मैदानमा भएको ओमानबिरुद्धको खेल गोलरहित बराबरी खेलेको थियो।