जर्मनीको अपराजित यात्रा जारी, नर्वेमाथि आधा दर्जन गोल


डिफेन्डिङ च्याम्पियन जर्मनीले आगामी रूस विश्वकपका लागि भएको छनोट खेलमा अपराजित यात्रा जारी राखेको छ। विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको छनोटमा सोमबार राति नर्वेलाई ६-०को फराकिलो अन्तरले पराजित गर्दै जर्मनीले अपराजित यात्रा जारी राखेको हो ।

घरेलु मैदानमा भएको खेलमा जर्मनीलाई जिताउन टिमो वेर्नेरले दुई तथा मोसीट ओजिल, जुलियन ड्रेक्सलर, लियोन गोर्तेज्का र मारियो गोमेजले समान एक एक गोल गरे।

जर्मनीले पहिलो हाफमा नै चार गोलको अग्रता लिएको थियो । १० औं मिनेटमा ओजिलले गोल गर्दै सुरुवाति अग्रता दिलाए । १७ औं मिनेटमा ड्रेक्सलरले अग्रता दोब्बर पारे । वेर्नरले २१ र ४० औं मिनेटमा गरी दुई गोल गरेपछि पहिले हाफमा जर्मनीले ४–० को अग्रता लियो । दोस्रो हाफमा थप दुई गोल भयो । ५० औं मिनेटमा गोरेत्क र ७९ औं मिनेटमा गोमेजले गोल गर्दै जर्मनीका लागि आधा दर्जन गोल पूरा गरे ।

युरोपियन क्षेत्रको छनोटको समूह ‘सी’ मा रहेको जर्मनीको यो लगातार आठौं जित हो । जितपछि जर्मनीले रुसको यात्रा तय गर्ने  सम्भावना बलियो बनाएको छ।

समूह ‘सी’ अन्तर्गतकै अर्को खेलमा नर्दन आयरल्याण्डले चेक रिपब्लिकलाई २ – ० ले पराजित गरेको छ । जितपछि दोस्रो स्थानको नर्दन आयरल्याण्डले १९ अंक जोडेको छ । यस्तै यसै समुहको तेस्रो स्थानको अजरबैजानले सान मारियोलाई ५ – १ ले पराजित गरेको छ ।

गएरातिको नतिजासँगै ८ खेलबाट २४ अंकसहित जर्मनी समूहको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको नर्दन आयरल्याण्डको १९ अंक छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.