एसिया कम यात्राका लागि भोलि हुने खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी ताजकिस्तान प्रतिश्पर्धा गर्दैछ।
मंगलबार एन्फा कम्प्लेक्समा हुने खेल नेपालका लागि महत्वपूर्ण छ। यसअघि एएफसी एसियन कप २०१९ छनोट चरणमा दुई खेल सकिँदा समूह एफमा रहेको नेपालको खातामा १ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ।
पहिलो खेलमा फिलिपिन्ससँग ४–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा यमनसँग गोलरहित बराबरी खेलेर अंकको खाता खोलेको थियो।
यस्तो स्थितिमा भोलि ताजकिस्तान विरुद्ध अंक जोड्न नसके एसिया कप यात्रा नेपालका लागि कठिन बन्नेछ । किनकि दोस्रो चरणमा बाँकी रहेका तीनमध्ये नेपालले कम्तीमा दुई जीत निकाले मात्र एसिया कपमा छनोट हुने सम्भावना बाँकी रहन्छ।
यस्तै नेपाल विरुद्धको खेल ताजकिस्तानका लागि पनि उत्तिकै महत्वपूर्ण छ। सुरूवाती दुवै खेलमा पराजित ताजकिस्तानले अंक तालिकाको पुछारमा छ। त्यसैले छनोट हुने सम्भावना जीवितै राख्न ताजकिस्तानलाई भोलि घरेलु टोलीलाई जित्नै पर्ने स्थितिमा यदि तेस्रो खेलमा पनि पराजित भए उसको एसिया कप छनोट यात्रा कठिन हुनेछ।
जापानमा ८ दिन तयारी गरेको घरेलु टोलीले अभ्यास खेलमा त्यती राम्रा नतिजा निकाल्न नसके पनि उच्च मनोबलसहित मैदानमा उत्रिनेछ।
भोलिको खेलमा दुबै देशले जित्ने विश्वास लिएका छन्। नेपाली राष्ट्रिय टोलीका जापानिज प्रशिक्षक ग्योतोकु कोजी ताजकिस्तानलाई हराउँदै युएई जानेमा ढुक्क छन्। यस्तै समकक्षी फुजायाल्भु खाकिम पनि नेपाललाई पन्छाएर छनोट यात्रा जिवितै राख्ने बताउँछन्।
नेपालका लागि भोलिको खेल एक दमै महत्वपूर्ण भएकोले नेपालले आफ्नो सम्पूर्ण शक्ति त्यसैमा लगाएर खेल्ने प्रशिक्षक ग्योतोकुले बताए।
‘हामी भोलि स्पष्ट जीतका लागि खेल्नेछौ,’ सोमबार प्रि-म्याज कन्फ्रेन्समा बोल्दै उनले भने,‘ हामी अंक बटुलेरै छोड्छौ, मैले ताजकिस्तानको खेल हेरेको छु उनीहरूको गेम योजना अनुसार मैदानमा उतार्नेछु।’
उनले नेपाली खेलाडीहरूको जापान भ्रमण दीर्घकालको लागि फलदायी हुने बताए।
एएफसी सोलिडारीटी कपको फाइनलमा मकाउलाई हराएर उपाधि जितेपछि नेपालले ९ महिनादेखि जितको स्वाद चाख्न पाएको छैन । नेपाललाई फिलिपिन्सले ४–१ र भारतले २–० ले हराएका थिए । यमनसँग भने नेपालले गोलरहित बराबरी खेलेको थियो।
फिफा वरीयतामा नेपाल (१६९) भन्दा १८ स्थान माथि रहेको ताजकिस्तान (१५१) तुलनात्मक रुपमा बलियो टोली हो। यद्यपि ताजकिस्तानले पछिल्ला पाँचमध्ये दुई खेलमा मात्र जित निकालेको छ। ताजकिस्तानले सामना गरेका प्रतिद्वन्द्वी नेपालभन्दा स्तरीय हुन् ।
पछिल्लोपटक ताजकिस्तान फिलिपिन्ससँग ४–३ र यमनसँग २–१ को झिनो अन्तरले हारेको थियो । त्यसअघि बहराइनसँग १–१ को बराबरी खेलेको थियो भने अफगानिस्तानलाई १–० र तुर्केमिनिस्तानलाई ३–० ले हराएको थियो।
पछिल्ला ६ खेलको तथ्यांक हेर्दा नेपालभन्दा ताजकिस्तानको खेल राम्रो छ । ताजनिकस्तानले ६ खेलमा १२ गोल गरेको छ भने नेपालले ५ गोल मात्र गर्न सकेको छ। नेपालले ८ गोल खाएको छ भने ताजकिस्तानले ९ गोल खाएको छ ।
नजितामा भने दुबै टोली समान देखिएका छन् । दुवै टोलीले समान २–२ खेलमा जित, बराबरी र हार बेहोरेका छन् । अब यी दुबै टोलीले भोलि दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरको कृतिम घाँसे मैदानमा प्रतिश्पपर्धा गर्नेछन्।