विश्वकप फुटबल २०१८ को छनोट अन्तर्गत आइतबार राति भएको खेलमा युरोपियन च्याम्पियन पोर्चुगल र स्वीट्जरल्याण्ड विजयी भएका छन् ।
युरोपियन क्षेत्रको छनोट अन्तर्गत आइतबार राति भएका खेलमा समूह ‘बी’ मा रहेको पोर्चुगलले हंगेरीलाई १–० ले हराएको हो। खेलको ३० औं मिनेटमा प्रिस्कीन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली हंगेरी १० खेलाडीमा सीमित भयो।
पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा दोस्रो हाफको सुरुमा नै पोर्चुगलले गोल गर्यो। पोर्चुगलको जितमा भ्यालेन्टे सिल्भाले गोल गरे।
यस्तै आइतबार राति नै भएको सोही समूहको अर्को खेलमा स्वीट्जरल्याण्डले लात्भियालाई ३–० को फराकिलो गोल अन्तरले हरायो। स्वीट्जरल्याण्डलाई जिताउन हारिस सेफेरोविक, ब्लेरिम डिजेमाइली र रिकार्डो रोड्रिग्वेजले गोल गरेका थिए।
जितपछि युरोपियन क्षेत्रको छनोटको समूह ‘बी’ मा रहेको पोर्चुगलले ८ खेलबाट २१ अंक जोड्दै दोस्रो स्थानमा छ। समूहमा २४ अंकसहित स्वीट्जरल्याण्ड शीर्ष स्थानमा छ। समूह ‘बी’ अन्तर्गत राति नै भएको खेलमा फारोइ आइल्याण्डले एन्डोरालाई १–० ले हरायो ।