माल्टामाथि इंग्ल्याण्डको प्रभावशाली जित


रूस विश्वकप फुटबल २०१८ को छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा इंग्ल्याण्डले माल्टामाथि प्रभावशाली जित दर्ता गरेको छ।

युरोपियन क्षेत्रको छनोट अन्तर्गत समूह ‘एफ’ मा रहेको इंग्ल्याण्डले माल्टामाथि ४–० ले रवाफिलो  जित दर्ता गरेको हो। पहिलो हाफमा गोल रहित बराबरी खेलेको इंग्ल्याण्डले दोस्रो हाफमै चार गोल गरेको थियो।

खेल सकिन अन्तिम पाँच मिनेट भित्र तीन गोल गरेको इंग्ल्याण्डको जितमा ह्यारी केनले दुई तथा रायन बिर्ट्रेण्ड र ड्यानी वेलबेकले एक एक गोल गरेका थिए।

खेलको ५३ औं मिनेटमा पहिलो गोल गर्दै केनले इंग्ल्यण्डलाई सुरुवाति अग्रता दिलाएका थिए। यस्तै ८५ औं मिनेटम बिर्ट्रेण्डले गोल गर्दै अग्रता दोब्बर पारे। इन्जुरी समयको पहिलो मिनेटमा वेलबेक गोल गरे भने इन्जुरी समयको दोस्रो मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरेपछि इंग्ल्याण्ड ४–० ले विजयी भयो।

गएरातिको खेलसँगै सात खेलबाट १७ अंक जोडेको इंग्ल्याण्ड समूहको शीर्ष स्थानमा छ। यस्तै गएरातिनै भएको समूहको अर्को खेलमा स्लोभेनियालाई १–० ले हराएको स्लोभाकिया १५ अंकसहित दोस्रो स्थानमा छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.